धनकौल। धनकौल गाउँपालिका-३ हरकठवाबाट चार दिनदेखि बेपत्ता रहेकी १० वर्षीया बालिका चाँदकुमारी यादव मृत अवस्थामा फेला परेकी छन्।
हरकठवाका रामबिनय यादवकी छोरी चाँदकुमारी गत आइतबारदेखि सम्पर्कविहीन भएकी थिइन्। बालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपिकृष्ण सुवेदीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।
खोजी गर्ने क्रममा बुधबार साँझ करिब साढे ४ बजे धनकौल गाउँपालिका-४ स्थित मनुष्मारा खोलामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरी टोलीसँगै बालिकाका आफन्त पनि खोजीमा संलग्न थिए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। परिवारका अनुसार बालिकाको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ।









