वीरगन्ज। वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशु १६ घण्टापछि सकुशल फेला परेको छ। शिशु चोरी गरेर फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेपछि घटना बाहिर आएको हो।
प्रहरीले सोमबार बिहान वीरगन्ज महानगरपालिका-१६ इनर्वाबाट नवजात शिशुसहित एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय सबिना खातुन रहेकी छन्।
पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार रातभर गरिएको खोजी तथा अनुसन्धानपछि प्रहरीले खातुनलाई शिशुसहित नियन्त्रणमा लिन सफल भएको हो।
सर्लाहीको रामनगर गाउँपालिका-३ बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे नारायणी अस्पतालमा शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन्। जन्मिएको एक दिनपछि आइतबार राति अस्पतालबाट शिशु अचानक हराएपछि परिवारमा खैलाबैला मच्चिएको थियो।
प्रहरीका अनुसार अस्पतालमा रहेका शिशुकी हजुरआमासँग एक अपरिचित महिलाले बच्चा खेलाउने भन्दै शिशु मागेकी थिइन्। परिवारले विश्वास गरेर बच्चा ती महिलाको हातमा दिएका थिए। तर, केहीबेरमै ती महिला शिशु लिएर अस्पतालबाट फरार भएकी थिइन्।
शिशु लिएर महिला बेपत्ता भएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो। घटनालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले अस्पताल परिसर तथा सम्भावित स्थानमा खोजी र अनुसन्धान तीव्र बनाएको थियो।
करिब १६ घण्टापछि प्रहरीले वीरगन्ज-१६ इनर्वाबाट शिशुसहित खातुनलाई पक्राउ गरेको हो। शिशु सकुशल फेला परेपछि परिवारले राहतको सास फेरेको छ।
पक्राउ परेकी खातुन र नवजात शिशुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ। शिशु चोरी गर्नुको कारण तथा घटनामा अन्य व्यक्तिको संलग्नता रहे-नरहेको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।









