बेमौसमी वर्षाले मधेशका किसानको दुःख थपियो, क्षति अर्बभन्दा बढी


जनकपुर। आवश्यकता परेका बेला पानी नपर्नु र नचाहिएको बेला वर्षा हुनु, मधेशका किसानका लागि पछिल्ला वर्षहरूमा सामान्यजस्तै समस्या बन्दै गएको छ। लामो खडेरीको मार झेल्दै धानलगायतका बाली रोपेर आशा बाँधेका किसान अहिले फेरि बेमौसमी वर्षाको प्रहारबाट ठूलो पीडामा छन्।

गत असोजमा परेको वर्षा र बाढीले मात्रै ६ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको क्षति भोगेका किसानलाई मध्य कात्तिकमा परेको पछिल्लो वर्षाले झनै थप संकटमा पारेको छ। धानबालीसँगै दलहन, तेलहन, आलु र तरकारीजस्ता नगदे बाली लगाउनसमेत कठिनाइ परिरहेको छ।

धान खेतीमा सबैभन्दा ठूलो असर

मधेश प्रदेशमा ३ लाख ७० हजार १ सय ४५ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये यस वर्ष ३ लाख २९ हजार ७ सय २५ हेक्टरमा मात्र रोपाइँ गरिएको थियो। समयमै सिँचाइ र मलखाद अभावका कारण धेरै किसानले ढिलो र अपूरो रोपाइँ गर्नुपर्यो।

त्यसमध्ये असोजमा आएको बाढीले २६ हजार ९ सय ६७ हेक्टर क्षेत्रमा लगाइएको धान नष्ट गर्दै २ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ।

सबैभन्दा धेरै रौतहटमा १४ हजार ९ सय ३५ हेक्टर र सबैभन्दा कम सिरहामा ३५ हेक्टर धानबालीमा नोक्सानी भएको छ।

अन्य बालीमा पनि ठूलो क्षति

बाढी र वर्षाका कारण धानबाली मात्र होइन, अन्य बालीमा पनि ठूलो नोक्सानी भएको छ।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार

  •  १२ करोड ९४ लाख बराबरको माछा उत्पादन
  •  १ अर्ब १७ करोड २८ लाख बराबरको ३ हजार ९८७ हेक्टरमा लगाइएको उखु
  •  २ अर्ब १२ करोड ३७ लाख बराबरको ३ हजार १०७ हेक्टरमा लगाइएको तरकारी
  •  ४२ करोड १९ लाख बराबरको ६८५ हेक्टरमा लगाइएको फलफुल
  •  १३ करोड ४८ लाख बराबरको अन्य बाली

समेत क्षतिग्रस्त भएका छन्।

किसानको गुनासो: समस्या देखिन्छ, समाधान देखिँदैन

किसानहरू सिँचाइ अभाव, मलखाद संकट र बेमौसमका वर्षाको मार झेल्दै आएका छन्। तर पुनःस्थापना र राहतका विषयमा सम्बन्धित निकाय गम्भीर नदेखिएको उनीहरूको गुनासो छ।

किसानहरू भन्छन् –

“हत्परिको धान बगायो, अब तरकारी र दलहन लगाउनपनि सकेनौं। हाम्रो मर्का कसैले सुन्ने कोही छैन।”

मधेशमा मौसमीय असामान्यता र कृषि पूर्वाधारको अभावले किसानको जीवनयापन अझ चुनौतीपूर्ण बन्दै गएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको