बर्दिबास, महोत्तरी ।
मधेश प्रदेशकै उत्कृष्ट सहकारीमध्ये एक मानिने बर्दिबास बचत तथा ऋण सहकारी संस्थाले नयाँ नेतृत्व पाएको छ । शनिबार पञ्चधुरा माइस्थानमा सम्पन्न संस्थाको १४औं साधारणसभाले कोषाध्यक्ष सन्तोषकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नव–निर्वाचित समितिमा रेणुका हमाल उपाध्यक्ष, मदनकुमार ठकुरी सचिव र हर्कबहादुर तामाङ कोषाध्यक्ष बनेका छन् । यस्तै सदस्यमा कृष्णकुमार श्रेष्ठ, हिमाली हमाल, अशोक महतो, सकुन्तला पोखरेल र खुरहरि अधिकारी चयन भएका छन् । साधारणसभाले लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा माधवप्रसाद पोखरेललाई निरन्तरता दिंदै सदस्यमा कुमार भण्डारी र पर्शुराम जोशीलाई चयन गरेको छ ।
हाल करिब २३ करोड रुपैयाँ कारोबार पुर्याएको यस संस्थाले १८ करोडभन्दा बढी ऋण प्रवाह गरेको छ । जगेडा कोष १ करोड ५२ लाख र ऋण जोखिम कोष २ करोड ८२ लाख रहेको व्यवस्थापक रमेशबहादुर सिंहले जानकारी दिए ।
विक्रम सम्वत् २०६७ मा दर्ता भई २०६८ जेठ १ गतेदेखि औपचारिक कारोबार थालेको यस सहकारीमा हाल ३६ सयभन्दा बढी सदस्य रहेका छन् । बर्दिबास–१ मा मुख्य कार्यालयसहित किसाननगर (बर्दिबास–६) र खयरमारा (बर्दिबास–१०) मा सेवा कार्यालय सञ्चालनमा छन् ।
साधारणसभामा उत्कृष्ट बचतकर्ता, ऋणी, सेयर सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । साथै सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का तीन जना जेहेन्दार छात्र–छात्रालाई जनही १५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।
सोही अवसरमा पाँच वर्षभन्दा बढी सदस्यता प्राप्त ७० वर्ष उमेर पूरा गरेका सदस्यलाई मासिक ३०० रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
साधारणसभामा बर्दिबास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षत्री प्रमुख अतिथि र निवर्तमान अध्यक्ष शङ्करकुमार श्रेष्ठ सभाध्यक्ष रहेका थिए ।









