“वर्षेनि आन्दोलन नगरी उखुको पैसा नपाइने किसानको पीडा”


काठमाडौँ । छ दिनदेखि माइतीघर मण्डलामा उखुका लाँक्रा बोकेर आन्दोलनमा रहेका बाराका किसान हरिचन्द यादव ३५ हजार रूपैयाँ अनुदान पाउने आशामा काठमाडौँ आएका थिए । तर ऋण लिएर ल्याएको १० हजार रूपैयाँ समेत आन्दोलनकै खर्चमा सकिएपछि उनी खाली हात घर फर्कन लागेका छन् ।

सरकारले उखु किसानलाई दिने प्रतिक्विन्टल ७० रूपैयाँको अनुदान ५० प्रतिशत कटौती गरी ३५ रूपैयाँ मात्र बनाइएपछि किसान आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनसँगै भइरहेका वार्ता भने निष्कर्षविहीन छन् ।

हरिचन्दले गत वर्षको ५०० क्विन्टल उखुको भुक्तानी अझै नपाएको बताउँदै घरखर्च र छोराछोरीको पढाइ धान्नै कठिन भएको गुनासो पोखेका छन् । महोत्तरीका सुरतलाल यादवले १५ सय क्विन्टलको १ लाख ५० हजार रूपैयाँ पाउन बाँकी रहेको बताए । नवलपरासीका जयगोविन्द यादवको पनि करिब ३ लाख रूपैयाँ भुक्तानी हुन बाँकी छ ।

उनीहरू मात्र होइन, ११ जिल्लाका किसान आन्दोलनमा सहभागी छन् । चिनी उद्योगी र सरकारसँग वार्ताबाट समस्या समाधान नहुँदा किसान वर्षेनि राजधानी धाउन बाध्य भएको उनीहरूको भनाइ छ ।

कृषि मन्त्रालयले किसानलाई भुक्तानी दिने रकम निकासा गरिसकेको दाबी गरे पनि किसानले अझै पैसा पाएका छैनन् । अनुदान कटौती फिर्ता गर्नुपर्ने र उखुको मूल्य प्रतिक्विन्टल १ हजार रूपैयाँ पु¥याउनुपर्ने माग किसानको छ ।

उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु यादवका अनुसार प्रतिहेक्टर खेतीमा २ देखि २.५ लाख रूपैयाँ खर्च हुन्छ । समयमा भुक्तानी नपाउँदा किसान पलायन हुन थालेको उनको भनाइ छ ।

आव २०८१/८२ मा मात्र १३ वटा चिनी मिलमा २ करोड १५ लाख क्विन्टल उखु बिक्री भएको थियो । किसानको दाबी अनुसार सरकारले करिब १ अर्ब ६० करोड रूपैयाँ अझै भुक्तानी गर्न बाँकी छ ।

आन्दोलन अब मधेश केन्द्रित हुने

शुक्रबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग भएको वार्ता निष्कर्षविहीन भएपछि किसानले काठमाडौँको आन्दोलन स्थगन गर्ने निर्णय गरेका छन् ।

उखु किसान सङ्घर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवका अनुसार चाडपर्व नजिकिएको र किसान बिरामी परेका कारण आन्दोलन स्थगन गरिएको हो । अबको आन्दोलन आगामी भदौ २५ गतेदेखि मधेशमै सुरु गरिने उनले बताए ।

यादवका अनुसार सरकारले अनुदानका लागि बजेट छुट्याए पनि अर्थ मन्त्रालयले रोक्दा किसान बाध्य भएर सडकमा उत्रिनुपरेको हो । किसानले प्रतिक्विन्टल ७० रूपैयाँको अनुदान तत्काल कायम गर्नुपर्ने माग दोहोर्याएका छन् । gorkhapatra


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको