१ श्रावण, जनकपुरधाम, धनुषा — मिथिला बिहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन *योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपाल* ले स्थानीय किसानहरूको खेतमा धान रोपाइँ गरेको छ।
पानीको अभाव र खेतिहार मजदुरको चरम कमीका कारण खेतमा धान रोप्न नसकेका किसानहरूका लागि वाइसिएलको यो पहल राहत बनेको छ।
स्थानीय किसान नथुनी साहले मजदुरको अभावले गर्दा खेतमा धान रोप्न नसकेको अवस्थालाई सम्झिँदै भने, “गाउँमा मजदुर पाइन छाडेपछि चिन्ता लागेको थियो। माओवादीका युवाहरूले आएर धान रोपिदिएपछि म निकै खुसी भएँ।”
उनले जसोतसो सिँचाइको व्यवस्था त गरे पनि रोपाइँका लागि आवश्यक जनशक्ति नभएर समस्या भएको उल्लेख गरे। यस पहलप्रति उनले वाइसिएलप्रति आभार व्यक्त गरे।
“श्रमसँग जोडिएर उत्पादनमै लाग्नुपर्ने समय हो” — नेता मातृका यादव
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेश प्रदेश इञ्चार्ज मातृका प्रसाद यादवले पनि रोपाइँ कार्यक्रममा सहभागिता जनाउँदै, “खेती गरेरै नेता बनेको हुँ, अब फेरि श्रमसँगै जोडिनुपर्ने बेला आएको छ,” भन्ने धारणा राखे।
पूर्वमन्त्रीसमेत रहेका यादवले मधेश प्रदेशबाट मात्रै १५ लाखभन्दा बढी युवाहरू वैदेशिक रोजगारीमा रहेको तथ्यांक प्रस्तुत गर्दै, धनुषाबाट मात्र झन्डै ३.५ लाख युवा विदेशिएको अवस्था चिन्ताजनक भएको बताए।
“युवाहरूलाई श्रम र उत्पादनतर्फ फर्काउनु अपरिहार्य भएको छ,” उनले जोड दिए। साथै, निकट भविष्यमै केही जग्गा लिजमा लिएर सामूहिक खेती थाल्ने योजना पनि सार्वजनिक गरे।
“श्रम र उत्पादनमा वाइसिएल” अभियान धनुषाबाट सुरू
वाइसिएलका केन्द्रीय सचिव दीपक पटेलका अनुसार, “श्रम र उत्पादनमा वाइसिएल” भन्ने मूल नाराका साथ देशभर श्रम अभियान सञ्चालन भइरहेको छ।
धनुषाबाट सुरु गरिएको यो धान रोपाइँ अभियान निरन्तर चल्ने उनले बताए। किसानहरूलाई प्रत्यक्ष रूपमा सहयोग गर्ने उद्देश्यले अघि बढेको यो अभियानले व्यापक रूपमा सकारात्मक प्रभाव पार्ने वाइसिएलको विश्वास छ।
यस अभियानले केवल धान रोपाइँमा सहयोग मात्र होइन, युवालाई कृषिमा पुनः आकर्षित गर्ने सम्भावना पनि बोकेको छ। श्रम र उत्पादनसँग जोडिएको यस्तो अभ्यासले आत्मनिर्भरता र सामाजिक ऐक्यबद्धता दुवैलाई सुदृढ बनाउनेछ।









