चिसोको कारण घाममा बसेर वार्षिक परीक्षा दिइरहेका विद्यार्थी


सिमकोट (हुम्ला), पुस १७ गते ।

उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढेसँगै विद्यार्थीहरु वार्षिक परीक्षा दिन घाममा बस्न थालेका छन् । हुम्लामा विगतका वर्षजस्तै हिउँ नपरे पनि चिसो बढेसँगै यस वर्ष विद्यार्थीले खुला चौरमा डेस्क र बेन्च राखेर वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन् ।

चिसोले विद्यार्थीलाई सबैभन्दा बढी समस्या परेको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुल्ला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् । सिमकोट गाउँपालिका–८ सान्ता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरू कक्षाकोठाभित्र अत्याधिक चिसो भएकाले घाममा परेको प्रधानाध्यापक प्रेमकला बुढाले बताउनुभयो ।

प्रधानाध्यापक बुढाले भन्नुभयो, ‘चिसो मौसममा बालबालिका कक्षाकोठाभित्र बस्न नसक्दा चार कुनामा डेस्क र बेन्च राखेर वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । प्रधानध्यापक बुढाले चिसोका कारण कक्षाकोठामा लेख्न नसक्ने भएकाले चोकमै परीक्षा दिने व्यवस्था गरिएको बताउनुभयो । विद्यालयका अनुसार विद्यार्थीले कक्षाकोठामा चिसोका कारण परीक्षा दिन समस्या भएको बताएपछि दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

बालभद्र आधारभूत विद्यालयमा कक्षा १ देखि ६ सम्म १ सय ६२ विद्यार्थी अध्यापन गराउँदै आएका छन् । विद्यालयमा हाल आठ जना शिक्षक कार्यरत छन् । उहाँले वार्षिक परीक्षा सकिएपछि विद्यालयमा ४५ दिन हिउँदे बिदा हुने बताउनुभयो ।

सिमकोट गाउँपालिका–१ देखि ८ मा आजदेखि आधारभूत र माध्यमिक विद्यालयमा एकैसाथ वार्षिक परीक्षा सञ्चालन भएको छ । सातवटा गाउँपालिकासहित जिल्लाका अधिकांश विद्यालयमा अहिले वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । जिल्लाका धेरै विद्यालयले चर्को घाममा विद्यार्थीको परीक्षा सञ्चालन गरिरहेका छन् ।

सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा चिसो बढेको छ । जिल्लामा हिमपात नभए पनि हिउँदमा निकै चिसो हुन्छ । त्यस्तै तापक्रम माइनसमा झरेको छ । हिमपात भएमा जिल्लाको तापक्रम माइनस १५ डिग्रीबाट झर्ने गरेको छ ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको