ढोरपाटन (बागलुङ), पुस ११ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ नगरपालिका–४ कुण्डुलेस्थित शालिग्राम सङ्ग्रहालयको निरीक्षण गर्नुभएको छ । सातौं बाग्लुङ महोत्सवको उद्घाटनका लागि यहाँ आएका उहाँले उक्त सङ्ग्रहालयको अवलोकन गर्नुभएको हो ।
सङ्ग्रहालयको अवलोकन गर्न कुँडुले पुग्नुभएका राष्ट्रपति पौडेललाई मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्यलगायतले स्वागत गर्नुभएको थियो । संग्रहालयको अवलोकनपछि राष्ट्रपति पौडेलले भगवान विष्णुको प्रत्यक्ष अवतार शालिग्राम संकलन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले बागलुङसँग आफ्नो सम्बन्ध घनिष्ट रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो ‘मैले बाग्लुङमा धेरै समय बिताएँ’, । २०४६ को जनआन्दोलनको क्रममा बागलुङ कारागारमा उहाँले आफ्नो जीवन बिताएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले कालीगण्डकीको महत्व धेरै भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कालीगण्डकीको संरक्षण नगरे वाग्मतीको अवस्था जस्तै हुने बताउनुभयो ।
नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले संस्कृति संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । ‘पानीको मुहान जोगाउनु जरुरी छ, सारा संसार पानीले बनेको छ, त्यसैले हिमाल र जंगलको संरक्षण गर्नुपर्छ, कालीगण्ड धार्मिक दृष्टिले पनि महत्वपूर्ण भएकाले यसको संरक्षण गरौँ’, अध्यक्ष पौडेलले भन्नुभयो । ‘बाग्लुङको मायाले गर्दा म यो ठाउँमा पुगेको छु, यहाँ मैले धेरै समय बिताएको छु , यहाँका जनताले मलाई यहाँसम्म ल्याएका हुन् ।
श्रोत रासस











