मङ्गलबारे ( इलाम ), असोज २३ गते।
इलामबाट गएका १० जना नेपाली भारतमा बेपत्ता भएका बताइएको छ। इलाम नगरपालिका–९ का नेपालीहरु गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका प्रारम्भिक जानकारी आएको हो। काम गर्न गएका उनीहरु असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएको हुन सक्ने स्थानीयको भनाइ छ।
स्थानीय विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका हुन्। सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारको आग्रह छ। बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलथायतका रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो।
कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई यसअघि नै जानकारीमा आएको भए पनि बस्नेतलगायत अन्यको विषयमा थाहा नभएको उहाँको भनाइ छ। दुई जनाको विषयमा बेपत्ता भएको जानकारीमा आएको र अन्यको विषयमा पछिल्लो समयमात्र जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। सिक्किमका मिडियामा खबर गरिसकेको प्रजिअ पोखरेलले बताउनुभयो। बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसकेको बताइएको छ।
नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारीले त्यहाँका सुरक्षाकमीसँग कुराकानी भइरहेको जानकारी दिनुभयो। उद्धारमा भारतीय पक्षसमेत लागेको जानकारी आएको उहाँले बताउनुभयो।



















