जनकपुरधाम,असार १ गते।
मधेश सरकारले आर्थिक वर्ष २०८०।०८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ।
आज अर्थमन्त्री सञ्जयकुमार यादवले प्रस्तुत गरेको वार्षिक आयव्यय विवरणमा चालूतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार (४१.३० प्रतिशत) रकम विनियोजन गरेका छन्।
यसैगरी पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार (५८.२५ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ २० करोड (०.४५ प्रतिशत) विनियोजन गरिएको छ।
आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ४ अर्ब ३७ करोड ८१ लाख २ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँडबापत प्राप्त ११ अर्ब ३८ करोड १९ लाख र समानीकरण बापत प्राप्त अनुदान ७ अर्ब ४१ करोड ५० लाख र चालू आवको विनियोजनबाट बचत हुने नगद मौज्दात १२ अर्ब ९० करोड ११ लाख, विशेष अनुदान ४९ करोड, समपूरक अनुदान ९८ करोड, संघीय सरकारबाट सशर्त योजनाका लागि प्राप्त अनुदान ४ अर्ब ५६ करोड ८५ लाख गरी जम्मा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार व्यहोर्दा २ अर्ब न्यून हुने देखिन्छ। उक्त न्यून पूर्ति गर्न आगामी आवमा आन्तरिक ऋण परिचालन गरिनेछ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आवमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ। मधेश सरकारले चालू आव २०७९।०८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याइएको थियो।









