लन्डन । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भोटेकोशी क्षेत्रका बाढीपीडितको सहयोगार्थ लन्डनमा आयोजित ‘द बिग हाफ म्याराथन २०२६’ मा ३०० भन्दा बढी नेपाली धावक सहभागी भएका छन्।
नेपाल रन यूकेमा आबद्ध नेपाली धावकहरूले यस वर्षको हाफ म्याराथनलाई मातृभूमिमा बाढीबाट प्रभावित परिवारप्रति समर्पित गरेका हुन्। उनीहरूले १३।१ माइलको दौडलाई केवल खेलकुद गतिविधिका रूपमा नभई नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता, सहानुभूति र सहयोग जुटाउने अभियानका रूपमा अघि बढाएका थिए।
धेरै नेपाली धावकले आफ्नो दौडने भेस्टको पछाडि आर्थिक सहयोग संकलनका लागि ‘क्यूआर कोड’ समेत राखेका थिए। उक्त क्यूआर कोडमार्फत दौड हेर्न पुगेका दर्शक, अन्य धावक, साथीभाइ तथा सर्वसाधारणले सहज रूपमा बाढीपीडितका लागि सहयोग गर्न सक्ने व्यवस्था गरिएको थियो।
आयोजनाका क्रममा ‘इलिङ हाफ म्याराथन’ को समन्वय तथा सहयोगमा फन्डरेजिङ पेज तयार पार्न सहयोग गरेको ‘रेस नेशन’ टोलीप्रति नेपाली धावकहरूले आभार व्यक्त गरेका छन्। त्यस्तै, अभियानलाई दौडका क्रममा थप प्रचार गर्न सहयोग गरेको ‘रेस टाइमिङ सोलुसन्स’ लाई पनि धन्यवाद दिइएको छ। उक्त संस्थाले दौडका लागि आवश्यक ‘बिब्स’ उपलब्ध गराएको थियो।
हाफ म्याराथनमा सहभागी धावकहरूले आ–आफ्नै व्यक्तिगत लक्ष्य बनाएर दौडेका थिए। कसैले व्यक्तिगत उत्कृष्ट समय निकाल्ने लक्ष्य राखेका थिए भने कसैले निर्धारित दूरी पूरा गरेर अन्तिम रेखा पार गर्ने लक्ष्य बनाएका थिए। कतिपय धावक भने नयाँ दौडको अनुभव लिन सहभागी भएका थिए।
तर व्यक्तिगत लक्ष्य फरक भए पनि सबै धावकको साझा उद्देश्य भने नेपालका बाढीपीडितलाई सहयोग गर्नु रहेको थियो। धावकहरूले यो अभियानलाई सुरुवात मात्र भएको बताएका छन्।
नेपाल रन यूकेका संस्थापक सन्तोष राईका अनुसार हाफ म्याराथन सम्पन्न भए पनि बाढीपीडितका लागि सुरु गरिएको कोष संकलन अभियान भने जारी रहनेछ।
राईका अनुसार आर्थिक संकलनको निर्धारित लक्ष्य पूरा नभएसम्म नेपाल रन यूकेमा आबद्ध धावकहरूले आगामी दौड कार्यक्रम तथा साप्ताहिक ‘पार्क रन’मा समेत ‘फन्डरेजिङ बिब्स’ लगाएर अभियानलाई निरन्तरता दिनेछन्।
अहिलेसम्म सहयोग गर्ने अवसर नपाएका इच्छुक व्यक्तिहरूलाई धावकहरूको ‘बिब’ वा फन्डरेजिङ सामग्रीमा राखिएको क्यूआर कोड स्क्यान गरी सहयोग गर्न राईले आग्रह गरेका छन्।
‘रकम जतिसुकै भए पनि हरेक योगदानले बाढीबाट प्रभावित परिवारलाई सहयोग पुग्न सक्छ,’ राईले भने, ‘हाफ म्याराथन पूरा गर्नु आफैंमा ठूलो उपलब्धि हो। तर कुनै पवित्र उद्देश्यका लागि दौडिनु अझ अर्थपूर्ण हुँदो रहेछ। हामी एकताबद्ध छौं, हामी एक–अर्कालाई साथ दिन्छौं र हामी फेरि उठ्नेछौं।’onlinekhabar









