बर्दिबास, महोत्तरी। बर्दिबासमा श्रीकृष्णाष्टमी पूजा सुरु भएको छ। गोपाल सेवा समिति, नगर कार्यसमिति बर्दिबासको आयोजनामा शुक्रबार कलश यात्रा निकालेर यस वर्षको श्रीकृष्णाष्टमी पूजा कार्यक्रम सुरु गरिएको हो।
बर्दिबास नगर क्षेत्रका गोपालवंशी परिवारका सदस्यसहित स्थानीय श्रद्धालु भक्तजनहरूको सहभागितामा कलश यात्रा निकालिएको थियो। करिब १५० देखि २०० जनाको सहभागिता रहेको कलश यात्रा बर्दिबास चोकबाट सुरु भएर लच्का हुँदै रातु खोलासम्म पुगेको थियो।
कलश यात्रामा सहभागी भक्तजनहरूले कलश बोकेर धार्मिक तथा सांस्कृतिक उत्साहका साथ यात्रा गरेका थिए। रातु खोलामा पुगेपछि पवित्र जल सङ्कलन गरी कलशमा राखिएको थियो। त्यसपछि धार्मिक विधिअनुसार पूजा–आराधना गर्दै कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।
कलश यात्रामा बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकको समेत उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले भगवान् श्रीकृष्णप्रति श्रद्धा व्यक्त गर्दै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा जोड दिएका थिए।
गोपाल सेवा समिति, नगर कार्यसमिति बर्दिबासका अध्यक्ष विनोद यादवले श्रीकृष्णाष्टमी धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण पर्व भएकाले सबैलाई समेटेर कार्यक्रम आयोजना गरिएको बताए। ‘श्रीकृष्णाष्टमी हाम्रो धार्मिक तथा सांस्कृतिक पर्व हो। यसलाई सबैलाई जोड्ने र आपसी सद्भाव बढाउने उद्देश्यले तीन दिनसम्म विभिन्न कार्यक्रम गर्दैछौँ,’ यादवले भने, ‘आजको कलश यात्रामा स्थानीयवासी तथा गोपालवंशी परिवारका सदस्यहरूको राम्रो सहभागिता भयो। आगामी दिनमा पनि यस पर्वलाई अझ व्यवस्थित र भव्य रूपमा मनाउँदै जाने हाम्रो योजना छ।’
गोपाल सेवा समिति बर्दिबासले विगत चार वर्षदेखि श्रीकृष्णाष्टमी पर्व मनाउँदै आएको छ। समितिले पर्वलाई धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानसँग जोडेर हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ।
यस वर्ष पनि श्रीकृष्णाष्टमीको अवसरमा तीन दिनसम्म विभिन्न धार्मिक कार्यक्रम तथा पूजा–आराधना गरिने आयोजकले जनाएको छ। भजन–कीर्तनलगायतका कार्यक्रमसमेत आयोजना गरिने बताइएको छ।
आयोजकका अनुसार शुक्रबारको कलश यात्राले गोपालवंशी परिवारका सदस्य तथा स्थानीय श्रद्धालुबीच आपसी एकता, सद्भाव र धार्मिक भावना थप बलियो बनाउन सहयोग पुगेको छ।
श्रीकृष्णाष्टमी पर्वलाई आगामी वर्षहरूमा अझ व्यवस्थित र भव्य रूपमा निरन्तरता दिने योजना रहेको गोपाल सेवा समिति, नगर कार्यसमिति बर्दिबासले जनाएको छ।










