मिथलेश सिंह – बर्दिबास। देशभर आज नवयज्ञोपवीत (जनै) तथा रक्षाबन्धन धारण गरी जनैपूर्णिमा पर्व मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, तलाउ तथा पोखरीमा स्नान गरी गुरु-पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्नुका साथै नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा छ।
जनैपूर्णिमाका अवसरमा तागाधारी समुदायले विधिपूर्वक पूजा, ऋषितर्पण तथा नयाँ जनै धारण गर्छन्। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यसहित आठ ऋषिलाई पूजा तथा तर्पण गरिने भएकाले यस दिनलाई ‘ऋषितर्पणी’ समेत भनिन्छ। यज्ञोपवीतलाई ब्रह्मसूत्र तथा ज्ञानको धागोका रूपमा लिइन्छ।
यस अवसरमा देशभरका धार्मिक तथा तीर्थस्थलमा भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौँको पशुपतिनाथ, वसन्तपुर, मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी तथा जनकपुरधामका धनुषसागर र गङ्गासागरसहित विभिन्न कुण्ड तथा पोखरीमा स्नान र पूजाआजाका लागि भक्तजन पुग्ने गर्छन्।
जनैपूर्णिमाको अर्को विशेषता क्वाँटी हो। विभिन्न ११ प्रकारका गेडागुडी भिजाएर टुसा उमारिएको क्वाँटीको झोल खाने चलन छ। धार्मिक परम्परासँगै पोषणका दृष्टिले पनि क्वाँटीलाई उपयोगी मानिन्छ।
तराई–मधेश क्षेत्रमा भने जनैपूर्णिमा रक्षाबन्धनका रूपमा विशेष महत्त्वका साथ मनाइन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख–शान्ति तथा सुरक्षाको कामना गर्दै राखी बाँध्ने परम्परा छ। पछिल्ला वर्षमा यो परम्परा पहाडी तथा हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।
रक्षाबन्धनसँग सम्बन्धित विभिन्न पौराणिक मान्यता पाइन्छन्। भविष्य पुराणमा इन्द्रकी पत्नी शचीले मन्त्रिएको धागो इन्द्रको हातमा बाँधिदिएपछि देवताले युद्धमा विजय प्राप्त गरेको कथा उल्लेख छ। त्यस्तै, अन्य पुराणमा भगवान् विष्णुको वामन अवतार, राजा बलि र माता लक्ष्मीबीचको प्रसङ्गलाई पनि रक्षाबन्धनसँग जोडिएको पाइन्छ।
यसरी धार्मिक आस्था, पारिवारिक प्रेम, सामाजिक सद्भाव र सांस्कृतिक परम्परालाई जोड्ने जनैपूर्णिमा नेपालमा विशेष महत्त्वका साथ मनाइँदै आएको पर्व हो।