बाढी प्रभावित क्षेत्रमा सरकारको सम्पूर्ण संयन्त्र परिचालन : प्रधानमन्त्री शाह


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउनुभएको छ।

देशवासीका नाममा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकलाई राज्यका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहका अनुसार बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद्को बैठक तथा मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको छ।

उद्धार तथा खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको उहाँले जानकारी दिनुभएको छ। नेपाली सेनाका हेलिकप्टरमार्फत ठूलो संख्यामा नागरिकको हवाई उद्धार गरिएको तथा घाइतेलाई काठमाडौं ल्याएर उपचारको व्यवस्था मिलाइएको उहाँको सन्देशमा उल्लेख छ।

घाइतेको सहज र निःशुल्क उपचारका लागि काठमाडौंका प्रमुख अस्पताललाई तयारी अवस्थामा राखिएको जनाउँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली, एम्बुलेन्स र आवश्यक स्वास्थ्य सामग्री परिचालन गरिएको बताउनुभएको छ। नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटीलगायत संस्थासँग समेत उद्धार तथा स्वास्थ्य सेवामा समन्वय भइरहेको उहाँले उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री शाहले प्रभावित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार तथा विस्थापितलाई राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ। बेपत्ता नागरिकको खोजीलाई थप तीव्र बनाउँदै बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिने उहाँले बताउनुभएको छ।

नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङका विभिन्न स्थानीय तह तथा गोरखाका केही गाउँपालिका बाढीबाट बढी प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले ती क्षेत्रमा खाद्यान्न, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल मिलाइने बताउनुभएको छ।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिइने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उहाँले बताउनुभएको छ।

प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतसहित उनीहरूको साथमा रहेको बताउनुभएको छ। उद्धार, उपचार, खानपान तथा बसोबासको जिम्मेवारी सरकारले लिने उहाँको भनाइ छ।

विपद्को यस घडीमा सामाजिक संघसंस्था, उद्योगी-व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई राहत तथा उद्धार अभियानमा सहयोग गर्न प्रधानमन्त्री शाहले आह्वान गर्नुभएको छ।

यसअघि प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरी क्षति, उद्धार तथा राहतको अवस्थाबारे जानकारीसमेत लिनुभएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको