धनुषा। खेतीपातीको मुख्य समयमा किसानले रासायनिक मलको अभाव झेलिरहेका बेला धनुषाधाम नगरपालिका-५ का वडा सदस्य सुरेश महतोमाथि मल डिलरबाट रासायनिक मल लिएर ट्याम्पुमा लुकाई अन्यत्र लैजान खोजेको आरोप लागेको छ।
स्थानीयका अनुसार वडा सदस्य महतोले डिलरबाट मल लिएर ट्याम्पुमार्फत मिथिला बिहारी नगरपालिकातर्फ लैजान खोजेको सूचना पाएपछि स्थानीय युवाले ट्याम्पु रोकी मल नियन्त्रणमा लिएका हुन्। नियन्त्रणमा लिइएको मल वडा कार्यालयमा सुरक्षित रूपमा राखिएको छ। घटनाको विरोधस्वरूप स्थानीयले वडा कार्यालयमा तालाबन्दीसमेत गरेका छन्।
स्थानीय किसानले लामो समयदेखि रासायनिक मल नपाउँदा खेतीपाती प्रभावित भइरहेको अवस्थामा जनप्रतिनिधिमाथि नै ठूलो परिमाणमा मल अन्यत्र लैजान खोजेको आरोप लाग्नु गम्भीर विषय भएको बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
घटनापछि वडा क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ। स्थानीयले सम्बन्धित निकायसँग घटनाको सत्यतथ्य छानबिन गरी मल वितरण प्रक्रियामा भएको सम्भावित अनियमितता सार्वजनिक गर्न आग्रह गरेका छन्।
घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ। यद्यपि आरोपबारे प्रतिक्रिया लिन खोज्दा वडा सदस्य सुरेश महतोसँग सम्पर्क हुन नसकेको बताइएको छ।
यस विषयमा कृषि सामग्री कम्पनी, स्थानीय प्रशासन तथा धनुषाधाम नगरपालिकाले पनि आवश्यक छानबिन गर्ने तयारी गरेको जनाएका छन्। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने सम्बन्धित निकायले जनाएको छ।









