साहको सक्रियताले रौतहटका वन क्षेत्रमा सुधार


२७ जेठ, रौतहट  । रौतहट जिल्लाको वन संरक्षण तथा व्यवस्थापन क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार देखिएको छ। वन क्षेत्रमा हुने चोरी कटानी, काठ तस्करी तथा अतिक्रमणका गतिविधि नियन्त्रणमा आउन थालेपछि स्थानीयवासीहरू वन प्रशासनप्रति सकारात्मक बन्न थालेका छन्।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहको नेतृत्वमा वन संरक्षण अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको स्थानीयवासीहरूको भनाइ छ। उनले जिम्मेवारी सम्हालेयता वन क्षेत्रमा हुने अवैध फडानी, वन पैदावार चोरी निकासी तथा अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राख्दै कडाइका साथ कार्यान्वयन गरेका छन्।
वन अधिकृत साहले वन क्षेत्रको नियमित अनुगमन, निरीक्षण तथा गस्ती परिचालनलाई तीव्रता दिएका छन्। वन विनाश र तस्करी रोक्न कर्मचारीहरूलाई जिम्मेवार बनाइएको छ भने सम्बन्धित निकायहरूसँगको समन्वयलाई समेत मजबुत बनाइएको कार्यालयले जनाएको छ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै साहले कुनै राजनीतिक दबाब वा व्यक्तिगत प्रभावमा नपरी कानुनअनुसार काम गर्दै आएको बताए। उनका अनुसार वन संरक्षण, व्यवस्थापन र सुरक्षाका लागि कार्यालयको सम्पूर्ण टोली निरन्तर खटिरहेको छ।
वन कार्यालयका अनुसार नियमित गस्ती तथा निगरानी बढाइएपछि विगतको तुलनामा वन पैदावार चोरी तथा तस्करीका घटना उल्लेखनीय रूपमा घटेका छन्। वन अतिक्रमण नियन्त्रणमा समेत कार्यालयले प्रभावकारी काम गर्दै आएको छ।
पछिल्लो दुई वर्षमा जिल्लाका विभिन्न वन क्षेत्रमा भएका अतिक्रमण हटाउने, अवैध संरचना भत्काउने तथा वन क्षेत्र खाली गराउने कार्य सम्पन्न गरिएको कार्यालयले जनाएको छ। अतिक्रमण मुक्त गरिएका क्षेत्रमा पुनः वृक्षारोपण, प्राकृतिक रूपमा उम्रिएका बिरुवाको संरक्षण तथा वन पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिएको छ।
वन संरक्षण अभियानअन्तर्गत अतिक्रमणकारीविरुद्ध कानुनी कारबाहीलाई पनि निरन्तरता दिइएको छ। सोही क्रममा २०८१ चैत २४ गते वृन्दावन नगरपालिका–४ हरैया निवासी बिल्टु राय यादवलाई वन अतिक्रमण गरेको आरोपमा पक्राउ गरिएको थियो। उनलाई खयरघारी वन क्षेत्रमा झाडी तथा बुट्यान फाँडेर अतिक्रमणको प्रयास गरिरहेको अवस्थामा वन गस्ती टोलीले नियन्त्रणमा लिएको थियो।
वन कार्यालयले पछिल्लो समय गस्ती प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाएको जनाएको छ। कार्यालयका अनुसार करिब डेढ दशकयताकै सबैभन्दा सक्रिय रूपमा वन गस्ती परिचालन गरिएकाले अवैध कटानी र चोरी निकासीमा उल्लेखनीय नियन्त्रण कायम भएको छ।
गरुडा नगरपालिका निवासी अन्होती गुप्ताले वन अधिकृत साहको कार्यशैलीको प्रशंसा गर्दै वन संरक्षण, अतिक्रमण नियन्त्रण तथा व्यवस्थापनमा देखिएको सुधारले स्थानीयवासीहरूमा वन कार्यालयप्रति विश्वास बढाएको बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको