दमकमा बोराभित्र भेटिएकी युवतीको पहिचान खुल्यो, घाँटी कसेर हत्या गरिएको आशंका


झापा। झापाको दमकमा बोरामा बाँधेर खोलामा फालिएको अवस्थामा मृत फेला परेकी युवतीको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार मृतक दमक नगरपालिका-८ वसन्तटोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भन्ने रमा तिवारी हुन्।

प्रहरीका अनुसार मृतकको सनाखत उनका बुबा नारायण तिवारीले गरेका हुन्। प्रारम्भिक अनुसन्धानबाट रमा जेठ १३ गते राति करिब साढे ९ बजे घरबाट निस्किएकी र त्यसपछि घर नफर्किएको खुलेको छ।

रमाको शव शनिबार बिहान दमक नगरपालिका-१० स्थित सेतुमारी पुलमुनि रतुवा खोलामा फेला परेको थियो। सेतो प्लास्टिकको बोरामा बाँधिएको अवस्थामा भेटिएको शवमा रातो भेस्ट र जिन्सको पाइन्ट लगाइएको थियो। शवको कपाल र एउटा हात बोराबाहिर निस्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पहिचान नखुलेपछि प्रहरीले मृतकको बायाँ हातमा रहेको ट्याटुको तस्बिर सार्वजनिक गरेको थियो। सोही तस्बिरको आधारमा मृतकको पहिचान खुलेको डीएसपी खड्काले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार रमाको पाइपले घाँटी कसेर हत्या गरिएको देखिएको छ। शव बगेर आएको नभई हत्या पछि पुलमाथिबाट रतुवा खोलामा फालिएको हुन सक्ने आशंका गरिएको छ। पुलबाट फाल्ने क्रममा बोरा फुट्दा हात र कपाल बाहिर निस्किएको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाको थप अनुसन्धान तथा हत्यामा संलग्न व्यक्तिको खोजीका लागि इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतको नेतृत्वमा विशेष अनुसन्धान टोली परिचालन गरिएको छ।

शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानसहित प्रादेशिक अस्पताल भद्रपुरबाट फरेन्सिक चिकित्सकको टोली घटनास्थल पुगेको थियो। शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको