२८ बैशाख,बर्दिवास। बर्दिवास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित १५ वटा निजी स्वास्थ्य संस्था तथा फार्मेसीहरूलाई सात दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न कडा निर्देशन दिएको छ। नगरपालिकाको कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै मापदण्ड बमोजिम दर्ता नगरी सञ्चालनमा रहेका ती संस्थाहरूलाई कानुनी दायरामा आउन अल्टिमेटम दिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार, अनुगमनका क्रममा केही पोलिक्लिनिक, अस्पताल, ल्याब र फार्मेसीहरूले सञ्चालन अनुमति नलिएको र आवश्यक मापदण्ड पूरा नगरेको पाइएको छ।
सूचना जारी भएको मितिले ७ (सात) दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी नगरपालिकामा दर्ता नभएमा नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने नगरपालिकाले जनाएको छ।
दर्ताका लागि निर्देशन दिइएका संस्थाहरूको सूची:
१. राधे राधे पोलिक्लिनिक (ब.न.पा.-२)
२. आई.आर.डि.एस. समाज सहकारी अस्पताल (ब.न.पा.-१)
३. डि.एन.वि. मेडिकेयर सेन्टर प्रा.लि. (ब.न.पा.-१)
४. बर्दिवास रिलायबल ल्याबरोटरी (ब.न.पा.-१)
५. आश्विन प्याथोलोजी (ब.न.पा.-७)
६. मेघा डायग्नोष्टिक सेन्टर (ब.न.पा.-१४)
७. सामुदायिक हेल्थ क्लिनिक (ब.न.पा.-१)
८. एम.एल. डायग्नोष्टिक सेन्टर (ब.न.पा.-१)
९. पञ्चधुरा डायग्नोष्टिक सेन्टर (ब.न.पा.-१)
१०. आइसा मेडिकल हल (ब.न.पा.-१४)
११. सेभेन इलेभेन मेडिकल हल (ब.न.पा.-१)
१२. अग्रज मेडिकल हल (ब.न.पा.-१)
१३. न्यू ओम आयुर्वेद फर्मा (ब.न.पा.-१)
१४. कृति फार्मेसी (ब.न.पा.-१)
१५. शर्मा मेडिकल हल (ब.न.पा.-१)
नगरपालिकाको यो कदमले स्थानीय स्वास्थ्य सेवालाई व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ। बिना अनुमति सञ्चालित स्वास्थ्य संस्थाहरूले सर्वसाधारणको स्वास्थ्यमा पार्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले सक्रियता देखाएको हो।









