पर्सा। पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त ले एकीकृत जाँच चौकी वीरगञ्जबाट निस्कने मालबाहक ट्रकहरूबाट उठाइँदै आएको ‘ढाट’ रकम तत्काल रोक्न निर्देशन दिएका छन्।
सांसद पन्तले प्रमुख जिल्ला अधिकारी भोला दहाल सँग समन्वय गरी उक्त अवैध असुली दिनमा बन्द राख्ने र राति पुनः सञ्चालन गर्ने गरिएको जानकारी पाएपछि तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन्।
मालबाहक सवारीसाधनबाट ‘ढाट’ नाममा रकम असुली रोक्न केन्द्रबाट पटक-पटक निर्देशन आए पनि कार्यान्वयन नभएको भन्दै उनले आपत्ति जनाएका छन्।
सांसद पन्तले कानुनविपरीत कुनै पनि शीर्षकमा कर वा शुल्क उठाउन नपाइने स्पष्ट पार्दै भन्सार कार्यालयबाट बाहिरिने मालबाहक सवारीबाट विभिन्न स्थानमा घुम्ती राखी ‘ढाट’ का नाममा रकम उठाउने कार्य गैरकानुनी भएको बताएका छन्। यस्तो रकम उठाउने अधिकार संघीय वा स्थानीय कुनै पनि तहलाई नभएको उनले उल्लेख गरेका छन्।
व्यवसायीहरूले लामो समयदेखि यस विषयमा गुनासो गर्दै आएका छन्।









