ट्रयाक्टरको पाङ्ग्रा उछिट्टिँदा दुर्घटना, पल्सर चालकको मृत्यु


२३ चैत्र । बर्दिवास महोत्तरीको बर्दिबास नगरपालिका–८ बेङ्गखाडीस्थित जलेश्वर–बर्दिबास सडकखण्डमा गएराति भएको त्रिपक्षीय सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार मिति २०८२ साल वैशाख २२ गते राति करिब ८ः३० बजेको समयमा बर्दिबासबाट औरहीतर्फ जाँदै गरेको ज१ त ८१६१ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो। उक्त ट्रयाक्टरको अगाडिको दुवै चक्काको स्पेण्डल भाँचिएपछि ट्रयाक्टर अनियन्त्रित भई सडकमा घस्रिन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सोही क्रममा गौशाला नगरपालिका–१ रामनगर टोल निवासी वर्ष ३२ का विजय श्रेष्ठले चलाइरहेको प्र।२–०२–००१ प ६९६६ नम्बरको पल्सर मोटरसाइकल ट्रयाक्टरमा ठोक्किँदा गम्भीर घाइते भएका थिए। घाइते श्रेष्ठलाई तत्काल उपचारका लागि बर्दिबासस्थित शुभ स्वास्तिक अस्पताल लगिएकोमा राति करिब ९ः३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
त्यसैगरी, एकडारा क्षेत्रबाट काम गरेर फर्किँदै गरेका तीन जना सवार रहेको अर्को मोटरसाइकल समेत दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित हुँदा ट्रयाक्टर तथा विपरीत दिशाबाट आइरहेको पल्सर मोटरसाइकलसँग ठक्कर भएको हुनसक्ने अनुमान गरिएको छ।
दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि बर्दिबासस्थित शुभ स्वास्तिक अस्पताल पठाइएको छ। तीमध्ये दुई जनाको अवस्था सामान्य रहेको र एक जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। घाइतेहरूको नाम तथा अर्को मोटरसाइकलको नम्बर भने खुल्न बाँकी रहेको छ।
प्रहरीका अनुसार ट्रयाक्टरको अगाडिको धुरा भाँचिएपछि दुवै पाङ्ग्रा उछिट्टिएर विपरीत दिशातर्फ पुगेको देखिएको छ। दुर्घटना हुनुको एक कारण उक्त प्राविधिक समस्या पनि हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेको छ। यद्यपि दुर्घटना के कसरी भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रातिको समयमा भएको दुर्घटना भएकाले घटनाबारे विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। हाल घाइते सबैको उपचार बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको