अनुराग यादब
१६ चैत,बर्दिबास ।
महोत्तरीको बर्दिवासमा प्रस्तावित मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना खारेज गर्ने चर्चा चुलिएपछि नागरिक समाज आन्दोलनमा उत्रिएको छ।
सोमबार केही समयका लागि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै नागरिक समाजले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय महोत्तरी मार्फत इलाका प्रशासन कार्यालय बर्दिवासमा ध्यानाकर्षण पत्र बुझाएका छन्।
नागरिक समाजले सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमा बर्दिवास मेडिकल कलेज आयोजना खारेज गर्ने सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर आपत्ति जनाइएको छ। नेपालको संविधानमा उल्लेखित जनस्वास्थ्यसम्बन्धी नीतिअनुसार नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै यस्तो महत्वपूर्ण आयोजना रोक्न नहुने उनीहरूको भनाइ छ।
“एक प्रदेश एक मेडिकल कलेज” को अवधारणाअनुसार २०७६ सालमा स्थापना गरिएको उक्त आयोजनाले हालसम्म विभिन्न प्रक्रियागत कामहरू पूरा गरिसकेको जनाइएको छ। मन्त्रिपरिषद्को २०८०/१०/०३ को निर्णयअनुसार जग्गा प्राप्त भइसकेको, १३.७४ हेक्टर क्षेत्रमा करिब १९ हजारभन्दा बढी बिरुवा रोपण भइसकेको तथा विस्तृत परियोजना प्रतिवेदन (DPR) समेत स्वीकृत भइसकेको अवस्थामा आयोजना खारेज गर्ने प्रयासप्रति आपत्ति जनाइएको छ।
नागरिक समाजले आयोजना अन्तिम चरणतर्फ पुगेको भन्दै वन तथा भू–संरक्षण विभागसँगको सम्झौता कार्यान्वयन गरी निर्माण प्रक्रिया यथाशीघ्र अघि बढाउन सरकारसँग माग गरेको छ।
उक्त ध्यानाकर्षण पत्रमा वैकुण्ठ प्रसाद कायस्थ, निरोज अधिकारी, गणेश बस्नेत , सुगम पौडेल, कपिल रिसाल लगायतका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ।
नागरिक समाजले स्वास्थ्य सेवा र शिक्षा विस्तारका लागि अत्यन्तै महत्वपूर्ण मानिएको यस आयोजनालाई कुनै पनि बहानामा रोक्न खोजिए थप सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।









