बर्दिबास। महोत्तरीको बर्दिबासमा प्रहरीले ठूलो परिमाणको नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
बर्दिबास नगरपालिका-३ गौरीडाँडास्थित बीपी राजमार्ग मा विशेष सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा उक्त लागूऔषध बरामद गरिएको हो।
प्रहरीका अनुसार बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश-०२-०१-००१ च ०४४१ नम्बरको स्कार्पियो गाडीलाई रोकी तलासी गर्दा ब्राउन सुगर फेला परेको हो।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासका प्रहरी नायव निरीक्षक सरोजकुमार अधिकारी र इलाका प्रहरी कार्यालय बर्दिबास का डिएसपी विकास बमको संयुक्त कमाण्डमा खटिएको टोलीले गएराति करिब १०:१५ बजे अस्थायी ट्राफिक प्रहरी पोष्ट अगाडि चेकजाँच गरेको थियो।
तलासीका क्रममा स्कार्पियोमा सवार नुवाकोट सूर्यगढी गाउँपालिका-४ का ३१ वर्षीय अविरल परियारको दाहिने हातको मुठ्ठीमा कालो प्लास्टिकभित्र सेतो प्लास्टिकमा लुकाइ राखिएको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधलाई मान्यताप्राप्त तराजुमा तौल गर्दा प्लास्टिकसहित ७५ ग्राम र शुद्ध तौल ७१.०४ ग्राम रहेको जनाइएको छ। उक्त ब्राउन सुगरको काठमाडौं बजार मूल्य करिब १३ देखि १५ लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ।
प्रहरीले गाडी चालक सिरहा मिर्चैया नगरपालिका–८ का २१ वर्षीय मुरलीकुमार रायसहित सोही स्थानका २४ वर्षीय रमण घिमिरे र १९ वर्षीय सुनिल पटेललाई समेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास मा राखिएको प्रहरीले जनाएको छ।










