जनकपुरधाम। लैङ्गिक हिंसा न्यूनीकरण लगायतका सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको ओरेक नेपाल मधेश प्रदेशले आइतबार महिला तथा बालबालिकामाथि हुने हिंसासम्बन्धी त्रैमासिक विवरण सार्वजनिक गरेको छ।
संस्थाकी मधेश प्रदेश संयोजक विणाकुमारी सिंह ले जारी गरेको प्रेस विज्ञप्तिमा सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्मको तीन महिनामा मधेश प्रदेशमा १८३ वटा महिला हिंसाका घटना दर्ता भएको उल्लेख गरिएको छ।
विवरणअनुसार कुल घटनामध्ये १४१ (७७.०५ प्रतिशत) घरेलु हिंसा रहेका छन्। यस्तै २६ (१४.२१ प्रतिशत) सामाजिक हिंसा, ८ (४.३७ प्रतिशत) यौन हिंसा, ५ (२.७३ प्रतिशत) हत्या, २ वटा साइबर अपराध र १ अन्य प्रकारका हिंसा समेटिएका छन्।
ओरेकका अनुसार ५ घटना स्थानीय पत्रपत्रिकाबाट र बाँकी १७८ घटना धनुषा, महोत्तरी र सर्लाही जिल्लाका महिला, युवा तथा किशोरी समूहहरूबाट प्राथमिक स्रोतमार्फत सङ्कलन गरिएको हो।
अधिकांश हिंसा घरभित्रै र परिवारकै सदस्यबाट हुने गरेको देखिएको छ। घरेलु हिंसाका मुख्य कारणहरूमा दाइजो प्रथा, परिवारको दबाबमा विवाह, छोरी जन्मिनु, सौन्दर्यसम्बन्धी पूर्वाग्रह तथा परम्परागत सोचलाई उल्लेख गरिएको छ।
त्यसैगरी मधेशमा विवाहपछि मात्र नागरिकता बनाउने प्रचलनका कारण हिंसाप्रभावित महिलाहरू नागरिकताको अधिकारबाट वञ्चित हुने, विवाह दर्ता नहुने तथा बालबालिकाहरू जन्मदर्ता, शिक्षा र आधारभूत सेवाबाट वञ्चित हुने समस्या देखिएको छ।
तथ्याङ्कअनुसार १८३ घटनामध्ये १०७ महिला नागरिकताको अधिकारबाट, ९२ महिला विवाह दर्ताबाट, ३९ बालबालिका जन्मदर्ताबाट र १७ महिला आधारभूत पोषण तथा खानपान सुविधाबाट वञ्चित भएका छन्।
ओरेकले संरचनागत असमानता र हानिकारक सामाजिक अभ्यासलाई समयमै सम्बोधन नगरे महिला तथा किशोरीहरू निरन्तर हिंसा र अधिकारबाट वञ्चित हुने अवस्था कायम रहने चेतावनी दिएको छ।










