रौतहट। रौतहटको राजपुर नगरपालिका-३ स्थित ग्रामीण सडक किनारमा शंकास्पद वस्तु फेला परेको छ। बेवारिसे अवस्थामा रहेको उक्त वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गौर-पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको छ।
सेनाका अनुसार टोलीले शंकास्पद वस्तुको प्रकृति पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर सुरक्षित रूपमा निष्क्रिय पार्ने तयारी गरिरहेको छ।
घटनास्थल वरपर सर्वसाधारणको आवतजावत रोकिएको छ भने सुरक्षा घेरा कडा पारिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिएका छन्।









