सर्लाही। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले सर्लाहीमा बख्तरबन्द गाडीसहित सुरक्षा गस्ती सुरु गरेको छ। आइतबार बिहानदेखि सेनाको टोलीले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गस्ती थालेको हो।
यसअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विभिन्न स्थानमा नियमित गस्ती गर्दै आएको थियो। सुरक्षा व्यवस्था थप सुदृढ बनाउन अब बख्तरबन्द सवारीसाधनसमेत परिचालन गरिएको जनाइएको छ।
सर्लाहीमा तैनाथ कालिध्वज गण पाँच कुमारी ब्यारेकले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले अत्याधुनिक सैनिक सवारी साधनमार्फत मतदान स्थलहरूमा एकैसाथ सुरक्षा निगरानी तीव्र पारिएको जनाएको छ।
प्रमुख सेनानी उमेश खड्काका अनुसार जिल्लाभर पैदल, सवारी, मोटरसाइकल तथा बख्तरबन्दसहित सुरक्षा गस्ती सञ्चालन गरिएको छ। सेनाले जिल्लाभित्र समग्र सुरक्षा व्यवस्था कडा पारिएको पनि जनाएको छ।









