२४ माघ, गौशाला – राजेश कुशवाहा। महोत्तरी जिल्लामा क्रियाशील रतौली युवा क्लबले विभिन्न सामाजिक कार्य गर्दै आफ्नो ३६औँ स्थापना दिवस मनाएको छ।
मधेश प्रदेशका ग्रामीण समुदायमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक-आर्थिक सशक्तिकरण तथा सामाजिक न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय क्लबले स्थापना दिवसको अवसरमा Jaleshwar Nath Temple परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको जनाएको छ।
यसैगरी, जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूका लागि फलफूल वितरण कार्यक्रमसमेत सम्पन्न गरिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष मो. साकिर खान, कार्यकारी निर्देशक बैधनाथ चौधरी, कार्यसमिति सदस्यहरू तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक चौधरीले स्थापना कालदेखि हालसम्म संस्थाको सामाजिक अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने व्यक्ति, सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा साझेदारहरूप्रति आभार व्यक्त गरे।
उनले आगामी दिनमा पनि सामाजिक परिवर्तन र विकासका अभियानमा निरन्तर सहकार्य र सहयोगको अपेक्षा गर्दै धन्यवाद ज्ञापन गरेका थिए।










