२३ माघ बर्दिबास – जीवनराज दाहाल। धेरै बालबालिका खेलौनामा रमाइरहेका बेला बर्दिबासका १२ वर्षीय आर्सोन भट्टराई भने तार, मोटर र कम्प्युटरका साना बोर्डसँग साथी बनेका छन्। ग्लोबल एकेडेमी, बर्दिबासमा कक्षा ८ मा अध्ययनरत आर्सोनले आफ्नै प्रयासमा बनाएको ‘सारस’ रोबोटले उनलाई अरूभन्दा फरक बनाइदिएको छ।
करिब १५ दिनको निरन्तर अभ्यास र झन्डै ५ हजार रुपैयाँको सानो लगानीमा तयार भएको ‘सारस’ रोबोट अहिले अघि-पछि हिँड्न सक्छ र ब्लुटुथमार्फत सोधिएका सामान्य प्रश्नको जवाफ दिन सक्छ। आर्सोन भन्छन्, “नयाँ कुरा सिक्दा मजा आउँछ, त्यसैले रोबोट बनाएको हुँ।”
आर्सोनको यो यात्रा आज मात्र सुरु भएको होइन। कक्षा ४-५ मा पढ्दादेखि नै उनले पानीबाट चल्ने गाडी, सानो जेट इञ्जिन, रकेटजस्ता नमुना सामग्रीहरू बनाउँदै आएका छन्। साथीहरू आकाश खड्का र राजित्य चौधरीसँग मिलेर प्रयोग गर्ने बानीले उनको सिकाइ अझ रमाइलो बनेको छ।
विद्यालयका शिक्षकहरूले आर्सोनको जिज्ञासा र मेहनतलाई नजिकबाट साथ दिएका छन्। शिक्षकहरूको प्रोत्साहनले उनलाई डर नमानि नयाँ-नयाँ प्रयोग गर्न हिम्मत दिएको छ।
भविष्यमा आर्सोन ‘सारस’ रोबोटलाई आफैं निर्णय गर्ने बनाउने योजना बनाइरहेका छन्। त्यति मात्रै होइन, नेपालमै सेटेलाइट बनाउने र एक दिन अन्तरिक्षमा रकेट पठाउने ठूलो सपना पनि उनले देखेका छन्।
सानो उमेरमै विज्ञान र प्रविधिप्रति देखाएको लगावले आर्सोन भट्टराईलाई बाल प्रतिभाको सूचीमा राख्न थालिएको छ। उनको कथा आजका बालबालिकालाई ‘खेलसँगै सोच्न र बनाउन सकिन्छ’ भन्ने सन्देश दिइरहेको छ।









