५-६ जनाको समूहद्वारा कर्मचारीमाथि आक्रमण, केही घाइते
२२ माघ, सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रमा सञ्चालित एक लघुवित्त वित्तीय संस्थामा लुटपाट भएको छ। बिहीबार दिउँसो अज्ञात समूहले वित्तीय संस्थाभित्र प्रवेश गरी लुटपाट गरेको हो।
इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर वीरेन्द्र सिंह जोखारीका अनुसार ५-६ जनाको समूहले दिउँसो कार्यालयमा प्रवेश गरी लुटपाट गरेको हो। लुटपाटका क्रममा उक्त समूहले संस्थाका कर्मचारीमाथि छुरा प्रहारसमेत गरेको प्रहरीले जनाएको छ।
छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
प्रहरीका अनुसार लुटपाट गर्ने समूहले कर्मचारीहरूलाई कोठाभित्र बन्द गरेर घटनालाई अन्जाम दिएको हो। घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाएको छ।
लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।









