२४ पुस, जनकपुरधाम। सर्लाहीमा काठ तस्करहरूले वन चौकीदारको हत्या गरेको तथ्य खुलेको छ। गत पुस १९ गते सर्लाहीको ईश्वरपुर नगरपालिका-२ राईटरखोट टोलका ५२ वर्षीय सगरनाथ वन विकास परियोजनाका चौकीदार रामेश्वर महतोको घाँटी छिनाएर हत्या भएको थियो।
घटना अभियोगमा गाउँकै रुपनारायण महतोका छोरा रामवली महतो संलग्न रहेको पुष्टि भएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी सरोज राईले बताएका छन्। रामवलीलाई हत्या भएको दिनकै साँझ शंकाको आधारमा घरबाटै पक्राउ गरिएको थियो।
रामेश्वरको टाउकोविनाको शव भक्तिपुरस्थित प्लट नम्बर-१० को जङ्गलमा वनमाराको झाडीभित्र फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलबाट “NEKISOO” लेखिएको कालो चप्पल र रगत लागेको बन्चरो बरामद गरिएको थियो। यही वस्तुहरूको आधारमा रामवलीमाथि प्रारम्भिक शंका पुगेको प्रहरीले बताएको छ।
अनुसन्धानका क्रममा रामवली नियमित रूपमा जंगलमा टिक र मसला जातका रुख काट्ने कार्यमा संलग्न रहेको खुलेको छ। यस क्रममा चौकीदार रामेश्वरले बारम्बार रोक्न चेतावनी दिने गरेको र एक पटक त पक्राउ गर्ने प्रयासमै दुबैबीच जंगलमै लछारपछारसमेत भएको स्थानीयले बताएका छन्।
घटना हुनु पूर्व ४-५ दिन अघि रामेश्वरले रामवलीले चोरी गरी राखेको दाउरा उठाएर लगेपछि रामवलीले ‘काट्छु’ भन्ने धम्की दिएको पनि अनुसन्धानबाट खुलेको डीएसपी राईले बताए।
रामवलीलाई पक्राउ गरी ज्यान मार्ने कसूरमा मुद्दा दर्ता भएको र ६ दिनको म्याद थपेर इलाका प्रहरी कार्यालय केशरगंजमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









