४० वर्ष शिक्षामा समर्पित प्रधानाध्यापक जागेश्वर महतोको अन्तिम दिन


२३ पुष, धनुषा – मिथलेश सिंह। सोमबार विद्यालयको घण्टी अरू दिनभन्दा फरक सुनिन्थ्यो। घण्टीको आवाजमा उत्साहभन्दा बढी भावुकता मिसिएको थियो। विद्यालय परिसर मौन थियो – विद्यार्थी, शिक्षक र कर्मचारी सबैको अनुहारमा शब्दभन्दा गहिरो भावना झल्किन्थ्यो।

२०४२ सालमा स्थापना भएको धनुषाको मिथिला नगरपालिका-१ स्थित श्री माध्यमिक विद्यालय (तत्कालीन श्री आधारभूत विद्यालय, शिवनगर गीतापुर) सोमबार आफ्नै इतिहासलाई विदाइ गर्दै थियो। यही विद्यालयबाट शिक्षण पेशा सुरु गरेका प्रधानाध्यापक जागेश्वर महतो पुस १४ गते अनिवार्य अवकाशमा गएसँगै विद्यालयले चार दशक लामो एउटा अध्याय टुंग्याएको हो।

विद्यालय स्थापना हुँदाको सीमित स्रोतसाधन, कच्चा संरचना र असीमित सपना अझै उनका आँखामा ताजै थिए। सोमबार सोही विद्यालय परिसरमा उभिएर विदाइ सम्मान ग्रहण गर्दा प्रधानाध्यापक महतोको आँखामा ४० वर्षका स्मृति एकैसाथ झल्किरहेका थिए।

समयसँगै भवन फेरिए, पाठ्यक्रम फेरिए, पुस्ता फेरिए। तर संस्थापक शिक्षकसमेत रहेका प्रधानाध्यापक महतोको निष्ठा, अनुशासन र प्रतिबद्धता कहिल्यै फेरिएन। धुलाम्मे आँगनदेखि पक्की भवनसम्म, ट्याकबोर्डदेखि स्मार्ट बोर्डसम्मको यात्रा उनका आँखाअगाडि चलचित्रझैँ घुमिरहेको थियो।

चार दशकको अवधिमा उनले हजारौँ विद्यार्थीलाई अक्षर चिनाए, संस्कार सिकाए र जीवनको बाटो देखाए। आज ती विद्यार्थीहरू देश-विदेशका विभिन्न क्षेत्रमा स्थापित छन्।

प्रधानाध्यापक महतोको अवकाशमा आयोजित विदाइ समारोहमा फूलमाला, सम्मानपत्र र प्रशंसाका शब्द धेरै थिए। तर सबैभन्दा ठूलो सम्मान भने विद्यार्थी र सहकर्मीको भरिएको भावुक आँखा थियो, जसले शब्दभन्दा धेरै कुरा बोलिरहेको थियो। कमजोर विद्यार्थीलाई हौसला दिनु, अनुशासन नमान्नेलाई सही बाटो देखाउनु र सफलतालाई अहंकार नबनाउने पाठ उनका शिक्षणका मूल आधार थिए।

सालीन स्वभाव, सरल व्यवहार र भद्र बोलीका धनी प्रधानाध्यापक महतो सोमबार विद्यालयको ढोकाबाट बाहिरिँदै गर्दा पटक-पटक विद्यालयतिर फर्केर हेर्दै थिए। त्यो नजर केवल विदाइको मात्र थिएन, त्यसमा ४० वर्षको सम्झना, संघर्ष र गर्व मिसिएको थियो।

विदाइ समारोहमा बोल्दै प्रधानाध्यापक महतोले भने,

“यो विद्यालय मेरो जागिर होइन, मेरो जीवन हो।”

स्थानीयसमेत रहेका उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, “अवकाशपछि जागेश्वर सर विद्यालयको दैनिक व्यवस्थापनमा नदेखिएलान्, तर उहाँको छाया विद्यालयका कक्षाकोठा, अनुशासन र संस्कारमा सधैँ रहनेछ।”

आधारभूत विद्यालयलाई माध्यमिक विद्यालयमा स्तरोन्नति गर्ने कार्यमा जागेश्वर महतोको योगदान अतुलनीय रहेको मिथिला नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जोगी महतोले बताए। स्थानीय भएको नाताले आगामी दिनमा पनि विद्यालयको विकासमा उहाँको योगदान अपरिहार्य रहने उनले उल्लेख गरे।

नेकपा एमालेका मधेश प्रदेश प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य हरिनारायण महतोले मानव जीवनमा शिक्षाको महत्व अमूल्य रहेको उल्लेख गर्दै शिक्षाको मन्दिरलाई व्यवस्थित र गुणस्तरीय बनाउन सबैको साझा पहल आवश्यक रहेकोमा जोड दिए।

यसैबीच विद्यालय व्यवस्थापन समितिका अनुसार विद्यालयको नयाँ प्रधानाध्यापकको जिम्मेवारी कल्पना पाण्डेयलाई दिइएको छ। उनलाई पनि सोही कार्यक्रममा औपचारिक स्वागत गरिएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको