गृहमन्त्री अर्यालद्वारा मधेशी र मुस्लिम आयोगमा भेटघाट, साम्प्रदायिक सद्भावबारे छलफल


२३ पुस, काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगेर आयोगका पदाधिकारीहरूसँग भेटघाट गर्दै समसामयिक विषयमा छलफल गरेका छन्।

छलफलको मुख्य केन्द्रविन्दु पछिल्ला दिनमा तराई-मधेशका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाक्रम रहेका थिए।

गृहमन्त्री अर्यालले ललितपुरको जावलाखेलस्थित मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा अन्य पदाधिकारीहरूसँग र ज्वागलस्थित मधेशी आयोगमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहसहितका पदाधिकारीहरूसँग छलफल गरेका हुन्।

संविधानले संवैधानिक निकायका रूपमा व्यवस्था गरेका दुवै आयोगका काम, कर्तव्य र अधिकार, आयोगले भोगिरहेका समस्या तथा सरकारसँगका अपेक्षालगायत विषयमा आयोगका पदाधिकारीहरूले मन्त्री अर्याललाई जानकारी गराएका थिए।

छलफलका क्रममा गृहमन्त्री अर्यालले धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न मधेशी, थारु र मुस्लिम आयोगबाट संयुक्त रूपमा जारी गरिएको अपिलको खुलेर प्रशंसा गरे।

यसैबीच शान्ति तथा सामाजिक सद्भाव समिति गठनलगायतका कार्यका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जारी गरेको सर्कुलरको आयोगका पदाधिकारीहरूले स्वागत गरेका छन्।

गृहमन्त्री अर्यालले आयोगलाई आवश्यक सहयोग गर्न सरकार सधैं तत्पर रहेको विश्वास दिलाउँदै आवश्यकता अनुसार नेपाल सरकारको ध्यानाकर्षण गराउन तथा सल्लाह-सुझाव दिन आयोगसँग अपेक्षा पनि व्यक्त गरे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको