काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढ्दै गएकाले जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसोका कारण रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा हाइपोथर्मियाजस्ता समस्या भएका बिरामीको सङ्ख्या बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरे ।
“जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भई विभिन्न स्थानमा शीतलहर, हुस्सु, कुहिरो र हिमपातजस्ता अवस्थाले जनस्वास्थ्यमा नकारात्मक असर पार्ने गर्दछ,” उनले भने, “यस समयमा रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने र हाइपोथर्मियाजस्ता लक्षण भएका बिरामी बढ्ने गरेका छन्।”
डा. बुढाथोकीका अनुसार चिसोका कारण देखिने समस्या निरन्तर रहिरहे वा झन् बढेमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ मा फोन गरेर परामर्श लिन सकिनेछ ।
उनले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी जोखिममा रहने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताए ।
यसैगरी, पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायतका अङ्गमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सरजस्ता दीर्घरोगको जोखिम र मृत्युदरसमेत बढाउने मन्त्रालयले जनाएको छ ।
चिसोका कारण हुने सम्भावित रोग तथा लक्षणबाट बच्न धुवाँधुलोबाट जोगिने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन ‘सी’ युक्त सुन्तला, कागती, अमलालगायत फलफूल सेवन गर्ने, मौसमअनुसार ताजा सागपात खाने, सरसफाइमा ध्यान दिने र प्रशस्त मात्रामा झोल पदार्थ सेवन गर्न मन्त्रालयले आग्रह गरेको छ ।









