अनियमितता ढाकछोप गर्न पत्रकारहरुलाई गाली 


बर्दिबास। बर्दिवास खानेपानी संस्थाको ७ औ साधारणसभामा उठेका विषयवस्तुका सम्बन्धमा केही व्यक्तिहरूले पत्रकारहरुलाई नै बदनाम गर्ने नियतले सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै बर्दिवास नगर पत्रकार सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नगर पत्रकार सञ्जालले सार्वजनिक तथा सामाजिक संस्थामा संलग्न व्यक्तिहरूबाट गलत कार्य नहोस् भन्ने उद्देश्यले खबरदारी गर्नु, अनियमितता र त्रुटि उजागर गर्दै सत्यतथ्य लेख्नु र बोल्नु पत्रकारिताको मूल धर्म र दायित्व भएको स्पष्ट पारेको छ। पक्षपाती वा आफ्नो अनुकूलको पत्रकारिता खोज्नु पत्रकारिताको मूल्य-मान्यताभित्र नपर्ने सञ्जालको ठहर छ।

साधारणसभाकै क्रममा संस्थाका जिम्मेवार नेतृत्वबाट पत्रकारलाई लक्षित गरी प्रश्न उठाइनु तथा सभा पश्चात् सामाजिक सञ्जालमा योजनाबद्ध जस्तो देखिने गरी पत्रकारमाथि गालीगलौज, चरित्रहत्या र धम्कीपूर्ण भाषा प्रयोग हुनु अत्यन्त आपत्तिजनक रहेको सञ्जालले जनाएको छ। यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षसँग सञ्जालले आग्रह गरेको छ।

कुनै समाचार वा प्रकाशित सामग्रीप्रति असहमति भए आपसी संवाद वा कानुनी प्रक्रियामार्फत समाधान खोज्न सकिने भए पनि पत्रकार र पत्रकारितामाथि धम्की, दबाब र तर्साउने कार्य स्वीकार्य नहुने सञ्जालको भनाइ छ। सञ्चारकर्मीलाई दबाब दिएर सत्य लुकाउने प्रयास लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र विधिको शासनविरुद्धको आक्रमण हुने सञ्जालले उल्लेख गरेको छ।

सार्वजनिक संस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गराउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै सञ्जालले पेसागत मर्यादाप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ। यदि पत्रकारको सुरक्षामाथि चुनौती दिने र पेसालाई बदनाम गर्ने प्रयास जारी रहे कानुनी बाटो अपनाउन बाध्य हुने चेतावनी समेत सञ्जालले दिएको छ।

साथै, सामाजिक सञ्जालमा व्यक्त गरिएका धारणाहरू मर्यादित बनाउन र सच्याउन सम्बन्धित सबै पक्षसँग सञ्जालले अपिल गरेको छ। समाचार लेखनमा तथ्यपरकता, शब्दको मर्यादा र पत्रकार आचारसंहिता पालनामा सजग रहन सबै सञ्चारकर्मीलाई पनि सञ्जालले अनुरोध गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको