भैरहवा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत बुटवलको तुलसीपुर इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतले बैंक जमानत एक करोड रुपैयाँसहित विभिन्न सर्तहरू पूरा गर्ने आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गरी लामिछाने थुनामुक्त भएका हुन्। जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले कुल ३ करोड ७४ लाख ४४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका छन्।
भैरहवामा खराब मौसमका कारण काठमाडौंबाट सीधा विमानमार्फत ल्याउन ढिलाइ भएपछि लामिछानेलाई काठमाडौंबाट भरतपुरसम्म विमान र त्यहाँबाट गाडीमार्फत अदालतमा उपस्थित गराइएको थियो। थुनामुक्त हुनुअघि अदालत परिसर बाहिर रास्वपाका नेता तथा कार्यकर्ताहरूले उनको समर्थनमा नाराबाजी गरेका थिए।
थुनामुक्त भएपछि नेता-कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले भने, “न्याय अझै पाउन बाँकी नै छ। म आशा गर्छु देशले चाँडै न्याय पाउनेछ। मेरो बोल्ने समय आउँदै छ, केही समय धैर्य गर्नुहोला। मैले धेरै कुरा भन्न बाँकी छ।”









