२१ मंसिर, जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थनमा मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्रीको कार्यालयले शपथ समारोहका लागि आवश्यक तयारी पूरा गरिएको जनाएको छ।
यादवले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी पनि गरेका छन्।
यसअघि संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मंसिर १७ गतेसम्म मुख्यमन्त्री थिए। तर विश्वासको मत लिन नसक्ने अवस्था बनेपछि उनले राजीनामा दिएका थिए।
गत कार्तिक २३ गते राति सरोजकुमार यादवलाई संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएपछि सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन र मत पाउन नसके संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन गर्न आदेश दिएको थियो।
विश्वासको मत सुनिश्चित नदेखिएपछि उनी पदबाट हटे र त्यसपछि कांग्रेस नेता कृष्णप्रसाद यादवले कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादी लगायतका ७७ सांसदहरूको समर्थनसहित सरकार गठनको दाबी पेश गरेका थिए।









