११ भदौ, काठमाडौं ।
अनुदान कटौती र बक्यौता भुक्तानीका मागसहित काठमाडौंमा जारी उखु किसानहरूको आन्दोलनलाई जनमत पार्टीले समर्थन जनाउँदै एक्यवद्धता प्रकट गरेको छ।
पार्टीका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जयकान्त राउत र प्रवक्ता डा. शरद सिंह यादव सोमबार माइतीघर मण्डलास्थित धर्नास्थल पुगेका थिए। उनीहरूले किसानका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे।
गत वर्ष प्रतिक्विन्टल ७० रुपैयाँ दिने भनिएको अनुदानलाई सरकारले घटाएर ३५ रुपैयाँ मात्र दिने निर्णय गरेपछि किसानहरू असन्तुष्ट बनेका छन्। सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासीलगायत जिल्लाबाट आएका किसानहरू काठमाडौंमा निरन्तर धर्ना तथा प्रदर्शन गरिरहेका छन्।
जनमत पार्टीका नेताहरूले किसानहरूको माग देशको कृषि, किसान र ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित रहेको भन्दै सरकारले तत्काल समाधान नगरे आन्दोलन अझ व्यापक बन्न सक्ने चेतावनी दिएका छन्।









