तराईका जिल्लामा जापानी इन्सेफ्लाइटिस तीव्र फैलावट, ३ मृत्यु ३३ संक्रमित


२६ साउन, काठमाडौं । तराईका जिल्लामा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। परिवार कल्याण महाशाखाका अनुसार हालसम्म ३ जनाको मृत्यु र ३३ जनामा संक्रमण पुष्टि भएको छ।

गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाको मृत्यु भएको थियो। यस वर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू मधेस, कोशी र लुम्बिनी रहेका छन्। संक्रमित बर्दिया, कावासोती, रत्ननगर, ठोरी, हरिवन, लाहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्जका बासिन्दा हुन्। संक्रमितमध्ये २० महिला र १३ पुरुष छन्। मृतकमध्ये मोरङका १७ वर्षीय, खानीपोखरीका ४९ वर्षीय र नवलपरासीका ७४ वर्षीय पुरुष छन्।

खोप शाखाका डा. अभियान गौतमका अनुसार यसपटक संक्रमण विशेषगरी खोप नलगाएका समुदायमा बढी देखिएको छ। प्रारम्भमा पूर्वका जिल्लामा देखिएको जेई पछिल्ला दिनमा मधेस, कोशी र लुम्बिनीमा फैलिएको छ। विभागका तथ्यांकअनुसार परीक्षण गरिएका ६८६ जनामध्ये ३३ मा संक्रमण पुष्टि भएको हो।

प्रदेशगत विवरण अनुसार मधेसमा १०, कोशीमा ९, लुम्बिनीमा ९, बागमतीमा ४ र गण्डकीमा १ जना संक्रमित छन्। डा. गौतमका अनुसार धानखेती हुने, वरिपरि सुँगुर वा हाँस पालन हुने तराई क्षेत्र यो रोगका लागि अत्यन्त अनुकूल वातावरण हो। जोखिम देखिएपछि स्वास्थ्य निकायले तीन महिना अघि नै अस्पतालहरूलाई ‘क्लिनिकल प्रोटोकल’ र उपचार निर्देशिका उपलब्ध गराएको छ। प्रमुख अस्पतालका चिकित्सकलाई तालिम दिइएको र आइसियुमा रहेका बिरामीको निरन्तर फलोअप भइरहेको छ।

नेपालमा सन् १९७८ मा पहिलो पटक जेई पुष्टि भएको हो। मुख्यतया तराई र भित्री मधेसमा बढी देखिने यो रोग २०७३ साउनदेखि नियमित खोप कार्यक्रममा समावेश गरिएको हो। एक वर्ष माथिका बालबालिकालाई यो खोप दिइँदै आएको छ। सन् १९९९ मा पाँच जिल्लाबाट सुरु भएको खोप अभियान २००९ सम्ममा २० जिल्लामा विस्तार गरिएको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार एसियामा वार्षिक करिब एक लाख मानिस जेईबाट प्रभावित हुन्छन्। विशेषगरी १५ वर्षमुनिका बालबालिकामा बढी देखिने र मृत्युदर ३० प्रतिशतसम्म हुने बताइएको छ। यो रोग जापानी इन्सेफ्लाइटिस भाइरसबाट हुने हो, जसलाई क्यूलेक्स प्रजातिको लामखुट्टेले सार्छ।

संक्रमणको लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, घाँटी कडापन, मुर्छा, बोल्न नसक्ने, मांसपेशी कमजोर वा पक्षाघात समावेश छन्। निश्चित औषधि नभएकाले लक्षणअनुसारको उपचार मात्र गरिन्छ। प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, एचआईभी संक्रमित वा मधुमेह भएका मानिस बढी जोखिममा हुन्छन्।

विशेषगरी मनसुनमा संक्रमणको जोखिम उच्च हुन्छ। चिकित्सकले लामो बाहुलाको लुगा लगाउने, घर वरिपरि सरसफाइ राख्ने, झुल वा लामखुट्टे धपाउने क्रिम प्रयोग गर्ने, पानी जम्न नदिने तथा पशुपंक्षीको खोर मानिसको घरदेखि टाढा राख्न सुझाव दिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको