२० साउन, महोत्तरी — सरकारले उखुको अनुदान कटौती गरेको विरोधमा महोत्तरीका किसानहरुले मंगलबार गौशालास्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।
उखु उत्पादक कृषक महासंघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाका अनुसार, सरकारले राहत दिनुपर्ने समयमा उल्टै अनुदान कटौती गरेर किसानको भविष्यसँग खेलबाड गरेको विरोधस्वरूप सांकेतिक प्रदर्शन गरिएको हो। उनले भदौ ६ गतेसम्म सरकारको निर्णय नसचिए काठमाडौंमा धर्ना दिन बाध्य हुने चेतावनी दिए।
नेपाल सरकारले बजेटमार्फत प्रतिक्विन्टल ७० रुपैयाँका दरले दिँदै आएको उखु अनुदान कटौती गरेपछि किसानहरू आन्दोलित भएका हुन्।
उखु उत्पादक महासंघका केन्द्रीय सदस्य महाशंकर थिङले चिनी उद्योग रहेका जिल्लाहरूमा एकैसाथ आन्दोलन सुरु गरिएको जानकारी दिए।
प्रदर्शनका क्रममा लोसपाका नेता देवनारायण महतोले किसानलाई समयमा मल र भुक्तानी दिन नसक्ने सरकारले अनुदान कटौती गर्नु अत्यन्त लज्जास्पद रहेको टिप्पणी गरे।









