१४ श्रावण, बर्दिबास, महोत्तरी — बर्दिबास नगरपालिकाको वाड नं. ३ मा सञ्चालित बर्दिबास जनसेवा अस्पतालमा आज निःशुल्क VH (Vaginal Hysterectomy) शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोहम्मद अजिज नेतृत्वको प्राविधिक टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। यस अभियान अन्तर्गत विभिन्न महिलाहरूको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै निःशुल्क उपचार तथा शल्यक्रिया सेवा प्रदान गरिएको थियो।
अस्पतालका संचालक सुमन भुजेलले शल्यक्रियामा संलग्न सम्पूर्ण चिकित्सक तथा प्राविधिक टिमलाई धन्यवाद ज्ञापन गर्दै सेवा प्राप्त सबै बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन्।
स्वास्थ्य सेवालाई सबैका लागि सहज, सुलभ र गुणस्तरीय बनाउने उद्देश्यले अस्पतालले समय–समयमा यस्ता निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ।
स्थानीयस्तरमै दक्ष चिकित्सकद्वारा यस्ता शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुनु बर्दिबास नगरवासीका लागि सकारात्मक सन्देश भएको भन्दै सेवाग्राही र स्थानीयवासीहरूले पनि प्रशंसा गरेका छन्।









