११ साउन, महोत्तरी — महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा अहिले गम्भीर खानेपानी संकट उत्पन्न भएको छ। गाउँमा पानीको यति चरम अभाव छ कि स्थानीय बासिन्दाहरू बिहानैदेखि जार, बाल्टीन र गाग्री बोकेर लामो लाइनमा उभिन बाध्य छन्। न त खानेपानी उपलब्ध छ, न त खेतबारीमा सिंचाइ गर्न सकिने अवस्था छ।
अर्कोतर्फ, यस्तो संकटपूर्ण समयमा समेत गाउँपालिका कार्यालय बन्द रहेको, ताल्चा लागेको अवस्थामा देखिएको स्थानीयहरूले गुनासो गरेका छन्।
“जनता भोकै प्यासै छन्, तर पालिका बन्द छ,” एक स्थानीय बासिन्दाले आक्रोश पोख्दै भने, “समस्या के हो, कसरी समाधान गर्न सकिन्छ भन्ने छलफलसमेत भएको छैन।”
स्थानीयहरूका अनुसार पालिकाले कुनै आपतकालीन योजना बनाएको छैन, न त वैकल्पिक व्यवस्था मिलाइएको छ। प्रदेश वा संघ सरकारसँग समन्वय गरी सहयोग माग्ने प्रयाससमेत नभएको उनीहरूको भनाइ छ।
आपतकालीन कार्यदल गठनको माग
स्थानीय सरोकारवालाहरूले सम्सी गाउँपालिकाले तत्काल आपतकालीन कार्यदल गठन गरी अस्थायी तथा दीर्घकालीन समाधानतर्फ कदम चाल्नुपर्ने माग गरेका छन्। साथै, प्रदेश तथा संघ सरकारसँग स्रोत र सहयोग माग गर्न पनि आग्रह गरिएको छ।
सामाजिक अभियन्ता शाहबाज हैदरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखे,
ताल्चा लगाएर समस्या भाग्दैन, जनता बोल्न थालेपछि आवाज दबाउन सकिँदैन।
शाहबाज हैदर माओवादी केन्द्रबाट सम्सी गाउँपालिकाको उम्मेदवारसमेत हुन्।
समस्या गम्भीर, तर बेवास्ता
एकातिर स्थानीय जनता दैनिक जीवनका आधारभूत आवश्यकता—खानेपानी र सिंचाइबाट वञ्चित छन्, अर्कोतर्फ जनप्रतिनिधिहरू गम्भीर बन्न असफल छन्। यो समस्या केवल सम्सी गाउँपालिकासम्म सीमित नभई सम्पूर्ण मधेश प्रदेशमै खानेपानी र सिंचाइ जस्ता विषयहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता झनै तीव्र रूपमा देखिएको छ।









