– जीवनराज दाहाल (चैत्र २१, बर्दिवास)
बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी विष्णु खड्काले आफ्नो जन्मदिनलाई समाजोपयोगी बनाउँदै बर्दिवास–लक्ष्मनिया जङ्गल क्षेत्रका बाँदरलाई झण्डै ३०० किलो फलफूल तथा खाद्यान्न वितरण गरेका छन् । अन्य अवसरमा नाचगान र भोज आयोजना गर्ने प्रचलन भए पनि उनले समाजलाई सकारात्मक सन्देश दिन नयाँ तरिका अपनाएका हुन् ।
खड्काले बाँदरहरूका लागि सुन्तला, जुनार, स्याउ, केरा, आँप, भुजा, बिस्कुट लगायतका खाद्य सामग्री वितरण गरेका थिए । उनको भनाइमा, पछिल्लो समय बर्दिवास क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । घरको करेसाबारी, खेतबारी तथा फलफूल बगैंचामा क्षति पुगेपछि स्थानीयहरू चिन्तित बनेका छन् । पहाडी क्षेत्रहरूमा सरकारले बाँदर नियन्त्रणका लागि विशेष योजना ल्याएझैँ, बर्दिवासमा पनि यसको व्यवस्थापन गर्न आवश्यक रहेको उनको तर्क छ ।

“बाँदरहरूको पनि बाँच्न पाउने अधिकार छ, तर किसानहरूले सुरक्षित रूपमा अन्नबाली उत्पादन गर्न सक्ने वातावरण सिर्जना गर्नु जरूरी छ । सम्बन्धित निकायको ध्यानाकर्षण गराउन तथा दीर्घकालीन समाधान खोज्न जन्मदिनलाई उपयोगी ढङ्गले मनाउने निर्णय गरेको हुँ,” खड्काले बताए ।

उनको यस कार्यले स्थानीय समुदायलाई बाँदर व्यवस्थापनको दीर्घकालीन उपायबारे सोच्न प्रेरित गर्ने विश्वास गरिएको छ ।










