
काठमाडौं, जेठ १० । बैशाख महिनामा धितोपत्र दोस्रो बजारबाट ३६ करोड २७ लाख ४२ हजार पुँजीगत लाभकर सङ्कलन भएको छ ।
सीडीएस र क्लियरिङको तथ्यांकअनुसार वैशाख महिनाको तुलनामा चैतमा पूँजीगत लाभकर २४ दशमलव ९ प्रतिशतले कम हो । चैत महिनामा ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो ।
बैशाख महिनामा दोस्रो बजारमा ५४ अर्ब ९१ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको थियो । कारोबारका क्रममा लगानीकर्ताले नाफा लिएर बिक्री गरेको धितोपत्रबाट ३६ करोड २७ लाख कर संकलन भएको छ ।
बजारमा हुने धितोपत्र कारोबारमा नाफाबाट दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन कारोबारीले ७।५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ । १ वर्षभन्दा कम समयसम्म सेयर होल्ड गरी बिक्री गरेमा नाफाको ७।५ प्रतिशत र १ वर्षभन्दा बढी समयसम्म सेयर होल्ड गरेर बिक्री गरेमा नाफाको ५ प्रतिशत कर तिर्नुपर्नेछ ।
वैशाख महिनामा अल्पकालीन कारोबारीबाट १८ करोड ४३ लाख ६१ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ भने दीर्घकालीन लगानीकर्ताबाट ११ करोड ४३ लाख ७१ हजार रुपैयाँ असुली भएको छ । त्यस्तै संस्थागत लगानीकर्ताबाट ६ करोड ४० लाख रुपैयाँ संकलन भएको छ । अल्पकालीन कर धेरै उठ्नुले धितोपत्र बजारमा १ वर्षभन्दा कम अवधिका लागि कारोबार गर्नेहरु बढी सक्रिय रहेको जनाउँछ ।