काठमाडौँ, जेठ २ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ दोस्रो दिन पनि जारी छ ।
उच्च अदालत पाटनमा मंगलबार भएको सुनुवाइमा बहस टुंगो नलागेपछि बुधबार पनि बहस जारी रह्यो ।
बुधबार पनि न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा दुवै पक्षका वकिलले बहस गरिरहेका छन् ।
न्यायाधीशहरूले बुधबार फैसला सुनाउने तयारी गरेका छन्। सोही अनुसार उनीहरुले दुबै पक्षका वकिलहरुको समय निर्धारण गरिदिएका छन् । दुवै पक्षका वकिललाई न्यायाधीशहरूले डेढ-डेढ घण्टाको समय दिएका छन् ।
यसअघि सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी र रमण श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटाले बहस गरेका थिए ।
उनीहरुले काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गरेको फैसलामा पनि प्रश्न उठाएका छन् ।
पीडित भनिएकी युवती गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीले बहस गरे ।
२०८० पुस २५ मा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद, तीन लाख जरिवाना र दुई लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
पीडित बालिकाको आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले फैसला गरेको थियो । तर फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने पुनरावेदनका लागि उच्च पुगेका थिए ।
यस मुद्दामा गौशाला २६ ले पनि पुनरावेदन गरेको छ । यस मामला मा, दुवै आफ्नो तर्फबाट कुरा राखिरहेका छन् । सुनुवाइको अन्त्यमा, जवाफी बहस सकिएपछि फैसला आउन सक्नेछ ।
उच्च अदालत पाटनले बुधबार नै फैसला दिनज सक्नेछ । यदि उच्चले सफाइ दिएमा सन्दीपका लागि अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्ने बाटो खुल्नेछ ।
यदि उच्च अदालतले जिल्लाको निर्णयलाई समर्थन गर्यो भने, सन्दीपसँग अन्तिम अदालतको निर्णयको लागि पर्खने मात्र विकल्प हुनेछ।










