किसानका ठुलो समस्याका रूप बन्दै बाँदर र दुम्सी


काठमाडौं, वैशाख २ गते । 

नेपालको कृषि र पशुपन्छी क्षेत्रको प्रमुख समस्याका रूपमा बाँदर र दुम्सी देखिएका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले गरेको कृषि गणना अन्तर्गत सामुदायिक प्रतिवेदनले यस्तो नतिजा देखाएको हो । कार्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार कृषि र पशुपन्छीमा नोक्सान पुर्‍याउने प्रमुख जनावरमा बाँदर र दुम्सी अग्रस्थानमा छन् ।

स्याल तेस्रो र बँदेल चौथो स्थानमा देखिएको राष्ट्रिय कृषि गणनाको सामुदायिक प्रतिवेदनमा उल्लेख छ । कार्यालयले ६ वैशाख २०७९ देखि १९ जेठ २०७९ सम्म ४५ दिन ‘फिल्ड’ मै पुगेर कृषि गणना गरेको थियो ।

सोही समयमा गणना क्षेत्रभित्र पर्ने वडाका अध्यक्ष वा सचिवमार्फत अन्तरर्वार्ता विधिबाट सामुदायिक प्रश्नावली भराएर तथ्यांक संकलन गरिएको थियो । यसको नतिजा आइतबार सार्वजनिक गरिएको हो

प्रतिवेदन अनुसार देशभरि ६ हजार ३६ वडाबाट विवरण संकलन गरिएको थियो । जसले मुलुकको ९० प्रतिशत भूभाग ओगट्छ । ती वडामा लगाइएको बाली र पशुमा क्षति गर्ने जंगली जनावरको विवरण संकलन गर्दा सबैभन्दा अग्रस्थानमा बाँदर देखिएको छ । जहाँ ३ हजार ९ सय २७ वडामा बाँदरले नोक्सानी गरेको पाइएको छ ।

त्यस्तै २ हजार ७ सय ५२ वडामा दुम्सीले क्षति गरिरहेको देखिएको छ । स्यालको आतंक २ हजार ५ सय ३४ वडामा बढी देखिएको छ । बँदेल आतंक २ हजार ३ सय ६२ वडामा छ ।

मृगले १ हजार ६ सय ६८ र बाघ तथा चितुवाले देशभरिका १ हजार ४ सय ९२ वडामा नोक्सान गरिरहेको प्रतिवेदनमा उल्लेख छ । वनबिरालोले १ हजार ४ सय ४०, लोखर्के १ हजार २ सय ४५, भालु ७ सय ७९ र हात्तीले ४ सय ९९ वडामा क्षति गरेको तथ्यांक छ ।

 

  • बाँदर आतंक कोसी र बागमतीमा अधिक

प्रदेशगत हेर्दा बाँदर आतंक कोसी र बागमतीका किसानले अधिक भोगिरहेका छन् । कोसीका ७ सय ५८ र बागमतीका ७ सय ३२ वडामा बाँदर आतंक रहेको देखिएको छ ।

त्यस्तै सुदूरपश्चिमका ६ सय ७७, गण्डकी ५ सय ६८, लुम्बिनी ५ सय ३३, कर्णाली ५ सय ३ र मधेशका २ सय ५४ वडामा बाँदर आतंक देखिएको छ ।

बँदेलले सुदूरपश्चिम र मधेश प्रदेशमा धेरै नोक्सानी गरिरहेको पाइएको छ । यी प्रदेशमा क्रमशः ५ सय ७९ र ५ सय ३७ वडामा बँदेल आतंक छ । लुम्बिनीका ४ सय ५८, बागमती ४ सय ३, कर्णाली २ सय ४६, कोसी १ सय ६५ र गण्डकीका ८१ वडामा बँदेल आतंक रहेको तथ्यांकले देखाएको छ ।

हात्तीले सबैभन्दा धेरै नोक्सानी कोसी र मधेश प्रदेशमा पुर्‍याउने गरेको पाइएको छ । यी प्रदेशका क्रमशः १ सय ४६ र १ सय ४३ वडामा हात्तीले क्षति गरिरहेको छ । सुदूरपश्चिममा ९४, लुम्बिनी ३२, कर्णाली २६ र गण्डकीका १७ वडामा हात्ती आतंक रहेको तथ्यांकमा छ ।

त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्यालले बढी क्षति गरिरहेको छ । यी प्रदेशमा क्रमशः ४ सय ५८ र ४ सय ४६ वडामा क्षति गरेको छ ।

बागमती प्रदेशका ४ सय १८, कोसी ३ सय ८०, लुम्बिनी ३ सय २७, गण्डकी २ सय ९६ र मधेशका २ सय ९ वडाले स्यालको आतंक भोगिरहेका छन् ।

त्यसबाहेक बाघ र चितुवाबाट सबैभन्दा धेरै गण्डकी प्रदेशका किसान प्रभावित छन् । यी प्रदेशका ४ सय २ वडामा यो जनावरले धेरै क्षति गरेको छ ।

बागमती प्रदेशमा २ सय ७३, सुदूरपश्चिम २ सय ७८, लुम्बिनी २ सय १६, कोसी १ सय ७२, कर्णाली १ सय २७ र मधेशका २४ वडामा बाघ आतंक देखिएको छ ।

भालु आतंक सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी देखिएको छ । दुम्सीले कोसी, बागमती र गण्डकीलाई बढी नोक्सान गरिरहेको छ । मृगले कोसी, बागमती र गण्डकीमा बढी क्षति गरेको पाइएको छ ।

लोखर्केले कोसी, बागमती र गण्डकीमा क्षति गरिरहेको छ । वनबिरालोले कोसी, बागमती र लुम्बिनी प्रदेशमा बढी नोक्सानी गरिरहेको प्रतिवेदनले देखाएको छ ।

 

  • प्राकृतिक विपद्‍मा बाढीले गर्छ धेरै क्षति

जंगली जनावर बाहेक नेपालको कृषिमा बाढीले धेरै क्षति गर्ने गरेको प्रतिवेदनले देखाएको छ । पछिल्लो पाँच वर्षको तथ्यांक केलाइएको प्रतिवेदनमा गणना गरिएकामध्ये अधिकांश वडाले बाढीको समस्या भोगेका छन् ।

दोस्रो स्थानमा पहिरो र तेस्रो स्थानमा हावाहुरी देखिएको छ । रोगकिरा प्रकोप, खडेरी, असिना, आगलागी र शीतलहररतुसारो कृषि बालीका प्रमुख प्राकृतिक समस्याका रूपमा देखिएका छन् ।

 

  • प्रमुख खाद्यबाली धान, दोस्रोमा मकै

तथ्यांक अनुसार नेपालको प्रमुख खाद्यबाली धान हो । देशका अधिकांश वडामा धानबाली हुने गरेको देखिएको छ । तथ्यांक संकलन गरिएकामध्ये ४ हजार १ सय ७३ वडामा प्रमुख बालीका रूपमा धान देखिएको छ ।

दोस्रो स्थानमा मकै, तेस्रो गहुँ, चौथो कोदो, पाँचौं जौ र छैटौँ स्थानमा फापर देखिएको छ । फलफूलतर्फ सबैभन्दा धेरै वडामा आँप उत्पादन हुने गरेको छ । दोस्रोमा सुन्तला, तेस्रो केरा, चौथो स्याउ, पाँचौं कागती, छैटौँ नासपाती र सातौंमा किवी देखिएको छ ।

 

  • पशुपन्छीमा अन्डा र भैंसीको दूध धेरै उत्पादन

पशुपन्छीजन्य उत्पादनका दृष्टिले नेपालमा सबैभन्दा धेरै वडामा अन्डा र भैंसीको दूध उत्पादन हुने गरेको छ । अन्डा उत्पादन सबैभन्दा धेरै ५ हजार ५ सय ११ र भैंसीको दूध ३ हजार ७ सय ८० वडामा उत्पादन भएको पाइएको छ ।

कुखुराको मासु, गाईको दूध, खसीको मासु, सुँगुरको मासु, राँगाको मासु, माछा र हाँसको अन्डा त्यसपछिको उत्पादनका रूपमा देखिएका छन् ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको