कक्षा १० को एसइई खारेज नगर्न बोर्डको अनुरोध


काठमाडौं ,पुस २६ गते । 

राष्ट्रिय परीक्षा बोर्डले यसअघिको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) यथावत राख्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई अनुरोध गरेको छ ।

विद्यालय शिक्षा विधेयक, २०८० माथि सुझाव दिँदै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले हालको परीक्षालाई यथावत राखी प्रदेश सरकारबाट सञ्चालन गर्न सुझाव दिनुभयेको छ । प्रत्येक दुई–दुई वर्षमा बाह्य परीक्षा हुनुपर्ने भएकाले कक्षा ८ पछि कक्षा १२ को परीक्षा लिने विधेयकको प्रस्ताव उपयुक्त नभएको उहाँले बताउनुभयो ।

कक्षा १० मा बोर्ड परीक्षा नभए कक्षा १२ मा अनुत्तीर्ण हुनेको दर बढ्न सक्ने र अनुत्तीर्ण भएमा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्न सक्ने उल्लेख गर्दै शर्माले कानून बनाउँदा ध्यान दिन आग्रह गर्नुभयो । परीक्षाको मापदण्ड र स्वीकार्यतालाई स्वीकार नगरेमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त हुँदैन ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोर्डको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले समयसापेक्ष पाठ्यक्रम परिमार्जनको प्रक्रिया जारी रहेको बताउनुभयो । उहाँले स्थानीय र मातृभाषा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र शिक्षकको क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

महानिर्देशक अर्यालले पाठ्यक्रममा राष्ट्र, राष्ट्रियता र मूल्यमान्यताका विषय थप्नुपर्ने महसुस भएको उल्लेख गर्दै प्रत्येक पाँच वर्षमा पाठ्यक्रम परिवर्तन हुने बताउनुभयो ।

बैठकमा सांसदहरुले पाठ्यक्रमले विद्यार्थीमा देशभक्ति, सीप र क्षमता र रोजगारीको भावना दिन सक्ने हुनुपर्नेमा जोड दिँदै युवा पलायनका कारण पाठ्यक्रम र परीक्षामा कमजोरी छ कि छैन भन्ने प्रश्नको छानबिन गर्न माग गर्नुभयेको छ । उहाँहरुले सरुवा रोग सचेतना, ट्राफिक नियम, सामाजिक, सांस्कृतिक तथा धार्मिक मूल्य मान्यता र मान्यताका विषय पाठ्यक्रममा समावेश गर्न पनि आग्रह गर्नुभयो ।

समितिका अध्यक्ष भानुभक्त जोशीको अध्यक्षतामा भएको बैठकमा सदस्यहरु डा चन्द्र भण्डारी, बद्री पाण्डे, डा तोशिमा कार्की, विद्या भट्टराई, सरिता भुसाल, डा। कालुराम राईलगायतले आमन्त्रित पदाधिकारीहरुप्रति जिज्ञासा राखेको बताउनुभयो । विद्यालय शिक्षालाई गुणस्तरीय र सीपमूलक बनाउन पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधार गरिनुपर्छ ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको