चितवन, पुस १९ गते ।
जिल्लाका दुई नगरपालिकाका १४७ सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा अटिजम भएका विद्यार्थीलाई लक्षित गरी यो आयोजना गरिएको हो ।
आयोजनाले सबै विद्यालयसँग समन्वय गरेर काम गरिरहेको आयोजना संयोजक सुमन पौडेलले जानकारी दिनुभयो । आयोजनाले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो नगरपालिकामा सात स्रोत केन्द्र र तीन विशेष विद्यालय सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । आयोजना कार्यान्वयनमा आएसँगै दुई नगरपालिकामा ‘अटिजम’ भएका ३९ बालबालिकालाई फिजियोथेरापी, १३७ बालबालिकालाई घरमै शिक्षा दिइएको छ ।
परियोजनाले गाउँका ‘अटिजम’का कारण विद्यालय जान नसकेका १४३ बालबालिकालाई सहायक सामग्री पनि वितरण गरेको छ । जटिल प्रकृतिका ३४ अपाङ्गता भएका बालबालिकालाई दैनिक क्रियाकलापमा सहज हुने सामग्री उपलब्ध गराइएको छ । २०२२ देखि काम गरिरहेको यो आयोजनाले यस अवधिमा जिल्लाका १ हजार ७५० अभिभावकलाई सम्पर्क गरेको छ ।
उहाँले समावेशी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रमबाट १ हजार ११८ जनालाई प्रदान गरेको र १७ अपाङ्गता भएका बालबालिकालाई सामाजिक सुरक्षा सेवामा पहुँच पुर्याएको जानकारी दिनुभयो । राष्ट्रिय बहिरा संघ नेपालका आयोजना संयोजक शर्मिला तामाङले घरेलु शिक्षा प्राप्त गर्ने ३१ बालबालिका विद्यालयमा भर्ना भएको जानकारी दिनुभयो । अहिले पनि ‘अटिजम’ भएका बालबालिकालाई समाजमा हेर्ने दृष्टिकोणमा खासै फरक छैन । जसका कारण उनीहरुको परिवार पनि समस्यामा परेको उहाँले बताउनुभयो ।
श्रोत रासस











