महोत्सवमा विद्यालयको स्वर्ण ४० लाख जुट्यो


गण्डकी, पुस १४ गते ।

स्थापनाको ५० औं वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीमा रहेको बाल कल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय दाताहरुले रु। ४० लाख १८ हजार प्रदान गरेका छन् ।

अक्षयकोष स्थापनाका लागि सुरु गरिएको आर्थिक सहयोग अभियानमा हालसम्म उक्त रकम सङ्कलन भएको विद्यालयले जनाउनुभयेको छ । दोर्दी–८ बन्सारका खर्ब तामाङले सबैभन्दा बढी ३ लाख रुपैयाँ दिएको विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले जानकारी दिनुभयो । ‘स्वर्ण पर्वको अवसरमा विद्यालयको अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग अभियान सुरु गरिएको छ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म यस अभियानमा २५० जनाभन्दा बढी संलग्न भइसकेका छन् ।

प्रअ घिमिरले स्वर्ण महोत्सवपछि पनि अक्षयकोषको रकम बढाउन आर्थिक अभियानलाई निरन्तरता दिइने बताउनुभयो । नवीकरणीय कोष विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न खर्च गरिने बताइएको छ । बिहीबारदेखि सुरु भएको स्वर्ण महोत्सव आज समापन हुने विद्यालयले जनाएको छ ।

विद्यालयले निम्न आय भएका परिवारका बालबालिकाका लागि छात्रवृत्ति, छात्रावास निर्माण, सवारी साधनको सुविधा जस्ता उन्नत योजनाहरू राखेको छ । गुरुङ समुदायको बाहुल्य रहेको दोर्दीको धोदेनी, फलेनी र बन्सार क्षेत्रका विद्यार्थी विद्यालयमा पढ्छन् ।

दोर्दीका जनप्रतिनिधि र स्थानीयवासीले विद्यालयको भौतिक संरचना निर्माणमा पहल गरेको विद्यालयका प्रधानाध्यापक घिमिरेले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा हाल २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको