चितवन, असोज २७ गते।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निःशुल्क गरिएको छ। अक्टोबर महिनाभरी स्तन क्यान्सरको बहिरङ्ग ( ओपिडि ) सेवा निःशुल्क गरिएको हो।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले स्तन क्यान्सर स्क्रिनिङका लागि मेमोग्राम र ब्रेष्ट युएसजीमा ३० प्रतिशत छुट दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालले स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।
यो महिनाको प्रत्येक शुक्रबार विद्यालय तथा क्याम्पसमा गएर छात्रालाई स्तन आफैँले कसरी परीक्षण गर्ने भन्नेबारे प्रशिक्षण दिने गरिएको देवकोटाले बताउनुभयो। “नौ कक्षाभन्दा माथिका छात्राका साथै विद्यालय र क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई स्तनमा हुने गाँठागुँठी तथा गिर्खाको पहिचान कसरी गर्ने, कसरी आफैँले थाहा पाउन सकिन्छ भन्ने विधि सिकाउने गरिएको छ”, उहाँले भन्नुभयो।
अस्पतालका अङ्कोलोजिष्ट डा सुवास ठाकुरले महिनाको एक दिन छुट्याएर आफ्नो स्तन आफैँले परीक्षण गर्नुपर्ने बताउनुभयो। उहाँले गाँठागुँठी भेटिएमा चिकित्सकको परामर्श लिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “स्तनका सबै गाँठागुँठी क्यान्सर हुँदैनन्। तर गाँठागुँठी देखिए क्यान्सर हो, होइन भन्ने यकीन गर्नुपर्छ।”
परीक्षणका क्रममा मेमोग्राम र युएसजी गरेर यकीन गर्न सकिने ठाकुरको भनाइ थियो। क्यान्सर इन्स्टिच्यूमा बढीमात्रामा मुख, जिब्रो, घाँटी, पाठेघर, स्तन र फोक्सोका क्यान्सर भएका बिरामी आउने गरेका उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा अस्पतालका निर्देशक डा दयाराम लम्सालले स्तन क्यान्सर समयमै पहिचान गर्नसके उपचार गर्न सहज हुने भन्दै पहिचान भएकामा निको हुने दर पनि उच्च रहेको जानकारी दिनुभयो। उहाँका अनुसार स्तन क्यान्सर महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गर्दछ। हरेक एक लाख जनसङ्ख्यामा चार÷पाँच जना पुरुषलाई स्तन क्यान्सर हुने गरेको उहाँले बताउनुभयो।
विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना ( ब्रेष्ट क्यान्सर अवारनेश मन्थ ) का रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउने गर्दछ।



















