काठमाडौँ: उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चमा परेको रिटमाथिको सुनुवाइ सकिएको छ।
लामिछानेमाथि नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको तथा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेकाले आरोप लगाउँदै उनको सांसद पद खारेज गर्न अन्तरिम आदेशको मागसहित अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले मुद्दा दायर गरेका थिए।
शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासमा भएको सुनुवाइ सकिएको हो।
यसअघि पुस ६ गते पनि साबिक इजलासमै सुनुवाइ भएकोमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षसँग छलफलपछि मात्रै आदेश दिने निर्णय गरेको थियो।
शुक्रबार सुनुवाइका क्रममा गृहमन्त्री लामिछानेका तर्फबाट ३ जना कानून व्यवसायीले बहस गरेका थिए।
लामिछानेका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले लामिछाने अमेरिका जाँदा नेपालको नागरिकता त्यागेर गएको नहुँदा पुन: नागरिकता लिइरहनुनपर्ने जिकिर गरे।
संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ सकिएसँगै अदालतले अब आदेश जारी गर्नेछ।









