नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा स्कुलका प्रिन्सिपल खड्का कारागार चलान


१८ जेठ,सुनसरी । एक नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्का पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

खड्कालाई केन्द्रीय अनुसन्धन ब्युरो सीआइबीले गत बिहीबार काठमाडौंबाट पक्राउ गरी सुनसरी ल्याएको थियो । खड्काविरुद्ध पीडित छात्राले खड्काले आफूलाई ०७२ देखि ०७३ को अन्तिमसम्म प्रिन्सिपल भएर रहँदा पटकपटक बलात्कार गरेको उजुरी दिएकी थिइन् ।

पीडितले ०७४ भदौ २ गते इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएपछि प्रहरीले आवश्यक अनुसन्धान सकेर सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरे पनि खड्का भने फरार थिए । खड्काले आफूलाई बलात्कार गर्दा पीडितले आफ्नो उमेर १५ वर्षको रहेको बताएकी छन् ।

खड्कालाई शुक्रबार बिहान ११ बजे सुनसरी जिल्ला अदालतमा हाजिर गराएर सोमबार बयान लिइएको थियो । बयान र थुनछेक बहस सकिएपछि उनलाई न्यायाधीश सुवासबाबु पुरीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनलाई झुम्का कारागार पठाइएको छ ।

सुनसरी जिल्ला अदालतका स्रेस्तेदार मोहनबहादुर अधिकारीका अनुसार पीडितले दिएको उजुरीको आधारमा फरार खड्का पक्राउ परेका थिए । बिहीबार नै सुनसरीमा ल्याइए पनि दुइ दिन विदा भएकाले सोमबार मात्र बयान लिएर पुर्पक्षका लागि खड्कालाई कारागार चलान गरिएको हो ।

कक्षा ९ मा अध्ययनरत हुँदा होस्टेलमा बसेका बेला पटकपटक बलात्कार गरेको युवतीको आरोप छ । खड्काले ती छात्रालाई उपचार गराउन लैजाने बहानामा धरानको एक होटलमासमेत जबर्जस्ती करणी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

हाल २२ वर्ष पुगेकी पीडित युवतीका अनुसार पहिलो पटक प्रिन्सिपल खड्काले एउटा होटेलमा लगेर उनलाई बलात्कार गरेका थिए । त्यसबेला खड्का ३१ वर्षका थिए । खड्काले बलात्कार गरेको बेला त्यसको भिडियो बनाएर ब्ल्याकमेल गर्दै अरुलाई भनेमा भिडियो सार्वजनिक गरिदिने धम्कीसमेत दिएको पीडित युवतीको भनाइ छ । साथै सोही भिडियोमार्फत् धम्की दिएर पटकपटक बलात्कार गरेको पनि पीडितको आरोप छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार